काठमाडौं- यौन दूराचार गरेको आरोप लागेका युवराज अधिकारीलाई नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालको दबाबमा नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त गरिएको छ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो। स्रोतका अनुसार वरिष्ठ नेता खनालको दबाबमा अधिकारीलाई नियुक्त गरिएको हो।
अधिकारीविरुद्ध चार वर्ष अगाडि कार्यलयमा यौनजन्य हिंसा गरेको भन्दै उजुरी परेको थियो।
नेपाल वायुसेवा निगममा अर्थ निर्देशक रहेका बेला अधिकारीले आफूहरुमाथि यौनजन्य हिंसा गरेको भन्दै अर्थ विभाग र आन्तरिक लेखापरीक्षण विभागका महिला कर्मचारीहरुले राष्ट्रिय महिला आयोगमा अधिकारीविरुद्ध उजुरी दिएका थिए।
महिला आयोगमा दिइएको उजुरीमा अधिकारीले महिला कर्मचारीहरुलाई आफ्नो कार्यकक्षमा बोलाएर यौन हिंसाजन्य क्रियाकलाप गर्ने, यौनजन्य क्रियाकलापको प्रयास गर्ने तथा दूरासयपूर्ण व्यवहार प्रदर्शन गर्ने गरेको उल्लेख गरिएको छ। निगमका ९१ जना कर्मचारीले उनीविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी दिएका थिए।
निगमका तत्कालीन अध्यक्ष सुशील घिमिरेले राजीनामा दिएपछि रिक्त रहेको ठाउँमा अधिकारीलाई नियुक्त गरिएको हो।