काबुल- अफगानिस्तानको कृषि तथा पशुपालन मन्त्रालयले यहाँका युवालाई कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्नुका साथै कृषि तथा पशुपालनको वृद्धिका क्षेत्रमा कार्यक्रमहरु ल्याएको छ। सो मन्त्रालयले कृषिको विकासका माध्यमबाट यहाँका युवाहरुको रोजगारीमा बृद्धि गर्नुका साथै खाद्य उत्पादनका माध्यमबाट खाद्य संकट हटाउने कार्यक्रम ल्याएको हो। उक्त मन्त्रालयले शुक्रबार देशव्यापी रुपमा सो कार्यक्रम सञ्चालनमा ल्याएको हो।
उक्त कार्यक्रमलाई देशव्यापी रुपमा कार्यान्वयनमा ल्याइने र यसका माध्यमबाट अफगानिस्तानमा बेरोजगारी हटाई गरिबी निवारण गरिने कार्यक्रम रहेको सो मन्त्रालयले जनाएको छ। अफगानिस्तानको काम चलाउ सरकारको मन्त्रिपरिषदले पारित गरेर सो कार्यक्रम सञ्चालनको घोषणा गरिएको पनि कृषि तथा पशुपालन मन्त्रालयले जानकारी दिएको छ।
यस अन्तर्गत अबका एक दुई दिनमै अफगानिस्तानमा कामका लागि खाद्यान्न कार्यक्रम घोषणा गरिने छ र यसअन्तर्गत लाखौँ मानिसहरुलाई काम लगाइने छ। उनीहरुले काम गरेबापत खाद्यान्न प्राप्त गर्नेछन्। यसबाट यहाँ अहिले देखिएको खाद्यान्नको संकट पनि हट्ने बताइएको छ।
कृषि मन्त्रालयले दिएको जानकारीअनुसार सोमबार काबुलमा कम्तीमा पनि ४० हजार जना मानिस यस कार्यक्रम अन्तर्गत काम गर्नेछन्। यसमार्फत् उनीहरुले चामल, गहुँको पिठोलगायतका खाद्यान्न पाउने छन्।