काठमाडौं- ललितपुरमा जारी उपमेयर कप महिला राष्ट्रिय लिग छनोटमा गोदावारी नगरपालिकाले सोमबार पहिलो जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार दिउँसो भएको खेलमा उसले महालक्ष्मी नगरपालिकालाई ५–३ गोलले हराएको हो।
गोदावारीको जितमा दावा डोल्मा लामा र एस्थर तामाङले समान २-२ गोल गरिन भने यन्जोम रोकायाले एक गोल थपिन्।
त्यस्तै, आजको अर्को खेलमा बागमती नगरपालिकासँग १–१ गोलको बराबरी गर्दै कन्काई नगरपालिका प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ।
निकै प्रतिस्पर्धात्मक खेलमा कुशुम खतिवडाले बनाएको अग्रतालाई बागमतीकी सदिपा ब्लोनले बराबरी गरेकी थिइन्। यो बराबरीसँग समूह ए को शीर्षस्थानमा रहँदै कन्काई अर्को चरणमा पुगेको हो।
यता समूह बी बाट ललितपुर महानगरपालिका महिला लिग छनोटको अर्को चरणमा पुगेको छ। लतिलपुरले आज सोमबार कालिका नगरपालिकालाई १–१ गोलको बराबरीमा रोक्दै नकआउट चरणमा स्थान बनाएको हो।
ललितपुरका लागि रजनी थोकरले बनाएको अग्रतालाई कालिकाकी निशा थोकरले बराबरी गरेकी थिइन्।