काठमाडौं– तास खेलिरहेको भिडियो बाहिरिएका सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहित तीनै सुरक्षा प्रमुखलाई सरुवा गरिएको छ। गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, सशस्त्र प्रहरी १० नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरलाई सरुवा गरेको हो।
महतो गृह मन्त्रालयमा तानिएका छन् भने उनको ठाउँमा बाबुराम खतिवडालाई पठाइएको गृह मन्त्रालयको एक उच्च अधिकारीले जानकारी दिए। श्रेष्ठको ठाउँमा प्रहरी उपरीक्षक भरत खनियाँलाई सरुवा गरिएको छ। प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरको सट्टामा प्रदेश २ प्रहरी कार्यालय जनकपुरबाट कृष्ण प्रसाईलाई पठाइएको छ। उनको सरुवा भने प्रहरी प्रधान कार्यालयले गरेको हो।
पदीय दायित्वलाई बेवास्ता गर्दै प्रमुख जिल्ला अधिकारी महतो, एसपी राठौर तथा सशस्त्र प्रहरी प्रमुख श्रेष्ठलगायत उच्च अधिकारी सार्वजनिकस्थलमै तास खेलिरहेको भिडियो सार्वजनिक भएको थियो।
जिल्लाको प्रमुख निकायमा रहेर शान्ति सुरक्षा तथा कानुन कार्यान्वयनको जिम्मेवारी लिएका सीडीओ, एसपी तासमा तल्लीन भिडियो समाजिक सञ्जालमा सार्वजानिक भएपछि विभिन्न प्रकारका टीकाटिप्पणी भएका थिए।