रसुवा- ६ वर्षअघि गएको महाभुकम्पपछि सुकेको रसुवाको एउटा तातोपानी कुण्ड पुनः भरिएको छ। आमाछोदिङ्मो गाउँपालिका-५ तातोपानीस्थित यो कुण्ड ०७२ सालको महाभुकम्पपछि सुकेको थियो।
गत भदौ मध्यतिर पलाएको तातोपानी गतबर्ष माघमा सुकेको थियो। ८ महिनापछि अहिले पुनः तातोपानी पलाएको स्थानीय नोर्चेल तामाङले बताए। उनका अनुसार ६ वटै धारामा पानी आइरहेको छ।
उनले भने, ‘पानीको मात्रा पनि बढिरहेको छ।’ तातोपानी पुनः देखिन थालेपछि स्थानीय खुसी भएका छन् भने गुमेको व्यवसाय पुनः फर्किनेमा आशावादी भएका छन्। बिनासकारी भुकम्पपछि तामाङ सम्पदा मार्ग र तातोपानी कुण्डको पानीको मुहान हराएपछि धार्मिक तथा साँस्कृतिक परम्परादेखि व्यवसायिक कारोबार समेत प्रभावित भएको थियो।
भुकम्पअघिसम्म यो कुण्डमा ४० डिग्री सेन्टिग्रेट तापक्रम र प्रतिसेकेन्ड सय लिटर हाराहारीमा पानी निस्कने गरेको अनुमान छ। तातोपानीको मुहान सुकेपछि व्यापारिक प्रयोजनाका लागि लाखौँ रुपैयाँ खर्चेर बनाएका होटल सुनसान भएका छन्। पर्यटक नआउँदा केहीले होटल व्यवसाय छोडी पलायन भएका छन्।
तातोपानी पोखरीमा नुहाएमा छालासम्बन्धी रोग, शरीरको खटिरा, दम, गानो गोला बाथ, चर्मलगायतको रोगबाट ग्रसित बिरामी ठिक हुने विश्वास छ। तातोपानी कुण्डमा नुहाउन स्वदेशी मात्र नभएर बिदेशी पर्यटन समेत आउने गर्थे।
दुई हजार ६ सय ४५ मिटरको उचाइमा अवस्थित तातोपानी कुण्डलाई भुकम्पको कम्पनले पुर्याएको क्षतिपश्चात पुनः पहिलेको अवस्थामा फर्किएको हुँदा पर्यटकीय तथा धार्मिक स्थानको संरक्षणमा ध्यान दिनुपर्ने जानकार बताउँछन्। -न्युज कारखाना