काठमाडौं– एक वर्षअघि धादिङमा रहँदा गुण्डा नाइके राधे भण्डारी समूहलाई सहयोग गरेको आरोप लागेपछि हेडक्वार्टर तानिएका डीएसपी विश्वराज खड्काले महानगरीय प्रहरी वृत्त दरबारमार्गको जिम्मेवारी पाएका छन्।
प्रहरी प्रधान कार्यालय नक्सालले डीएसपी रामेश्वर पौडेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गर्दै खड्कालाई दरबारमार्गको जिम्मेवारी दिएको हो।
प्रहरी वृत्त दरबारमार्ग काठमाडौं जिल्लाको आकर्षक पोस्टिङ मानिन्छ। यसअघि बालाजु वृत्तको इन्चार्ज भएर काम गरिसकेका खड्काले राजनीतिक पहुँचका आधारमा विवादित छवि हुँदाहुँदै पनि दरबारमार्ग वृत्तको कमान्ड सम्हाल्ने मौका पाएको बुझिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार उनको त्यहाँ काज सरुवा गरिएको हो।
एक वर्षअघि खड्का धादिङस्थित इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख थिए। गजुरीमा रहँदा उनलाई नदीजन्य अवैध निकासीलाई प्रश्रय दिएको र गुण्डा नाइके राधे भण्डारीसँग मिलेर काम गरेको आरोप लागेको थियो। त्यही कारण उनलाई गजुुरीबाट प्रहरी प्रधान कार्यालयमा तानिएको थियो। उनको बदलीमा त्यतिबेला डीएसपी युवराज खड्का गजुरीको इन्चार्ज भएर काज सरुवामा त्यहाँ पुगेका थिए।
त्यस्तै रुपन्देहीस्थित इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख पनि चार महिना नबित्दै हटाइएका छन्। प्रहरी प्रधान कार्यालयले चार महिना अघिमात्रै इन्चार्ज भएर पुगेका डीएसपी मदन कुँवरलाई हटाएर उनको बदलीमा डीएसपी ठगबहादुर केसीलाई त्यहाँ पठाएको छ। केसी यसअघि तनहुँस्थित गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय बेलचौतरामा कार्यरत थिए।