काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १४ जना न्यायाधीशले ‘एक्सन’ लिएपछि नेपाल बार एसोसिएसन अन्योलमा परेको छ। नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सोमबार बिहान ११ बजे बस्ने बैठकले यसबारे निर्णय गर्ने जानकारी दिए।
आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको छलफलमा नेपाल बारले अहिले देखिएका सबै विवाद फुलकोर्टमा छलफल गर्ने, गोलप्रथाबाट पेसी तोक्ने प्रक्रिया सुरु गर्ने र वरिष्ठ अधिवक्ताको उपाधि वितरणको प्रक्रिया अघि बढाउने अलिखित सहमति गरेको थियो। तर, १४ जना न्यायाधीशहरूले फुलकोर्ट बहिष्कार गर्ने निर्णय गरेपछि बार अलमलमा परेको छ। फुलकोर्ट बस्ने नबस्ने पनि टुंगो छैन। सर्वोच्चका १४ न्यायाधीशहरूको बैठक पनि ११ बजे बस्दैछ।
यस्तै, सर्वोच्च अदालत बारले न्यायलयमा देखिएको विवादका विषयमा छलफल गर्न बिहान ११ बजे बैठक राखेको सदस्य अनन्तप्रसाद भट्टराईले जानकारी दिए।
- न्युज कारखाना