काठमाडौं- आइतबार राति म्यानचेस्टरको ओल्ड ट्राफोर्ड रंगशालामा सम्पन्न खेलमा घरेलु टिम म्यानचेस्टर युनाइटेड पाहुना टिम लिभरपुलसँग पुरा समय नै दबाबमा रह्यो। इंग्लिस प्रिमियर लिग (ईपीएल) का उपाधि दाबेदार टिमहरूले आफ्नो उत्कृष्ट खेल प्रस्तुत गर्ने क्रममा युनाइटेडलाई लिभरपुलले धेरै पछि छोड्दै सानदार जित निकाल्यो।
युनाइटेडले सन् १८९५ को अक्टोबर मा ठूलो गोलअन्तरलेको हार बेहोरेको हो। त्यतिबेला पनि लिभरपुलले नै उसलाई ७–१ गोलले हराएको थियो। जब कुनै टिम घरेलु मैदानमा खेलिरहेको छ, त्यो टिमले हार बेहोरेको यो नै सिजनको सबैभन्दा ठूलो गोलअन्तर हो।
पहिलो हाफमै ४–० गोलको अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा पनि एक गोल थप्दै ५–० गोलअन्तरको जित निकाल्यो। एक समय युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गरे पनि उनी अफसाइड रहे। गोलले मान्यता पाएन।
यता खेलको सुरुआति मिनेटबाटै चम्किएको लिभरपुलको सानदार जितका लागि मोहम्मद सलाह निकै आक्रामक देखिए। उनले खेलको ३८औं मिनेट पहिलो हाफको इज्युरी समय र ५०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए।
सलाहले गोलको शृंखला सुरु गर्नुअघि नै लिभरपुल दुई गोलले अघि थियो। खेलको पाँचौ मिनेटमा सलाहले नै दिएको पासमा नेबी केइटाले गोल गरेका थिए। त्यस्तै, १३औं मिनेटमा ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डले उपलब्ध गराएको पासमा डियागो जोटाले गोल गरे।
यसले लिभरपुललाई अर्को कोशेढुंगामा पुर्याएको छ। ऊ ईपीएलको अवे खेलमा गोल सामना नगरी ५ वा सोभन्दा धेरै गोलअन्तरले लगातार जित निकाल्ने दोस्रो टिम बनेको छ। यसपहिले १९६० मा युनाइटेडले नै त्यस्तो जित निकालेको थियो।
सुरुआति रोजाइमा नपरेका मिडफिल्डर पाउल पोग्वा दोस्रो हाफमा मैदान छिरेका थिए। तर, उनी मैदानमा धेरै समय टिक्न सकेनन्। उनले लिभरपुलका केइटामाथि खराब ट्याक गरेपछि उनी मैदानबाट बाहिरिएका थिए।
त्यससँगै युनाइटेड १० खेलाडीमा समेटियो। यद्यपि ऊ पाँच गोलले पछि परिसकेको थियो। त्यसअघि खेलको ५५औं मिनेटमा ह्यारी मग्वायरले जोटालाई आफ्नो पोस्टनजिकै फल गरे पनि उन भने रातो कार्डबाट सुरक्षित रहे।
यता, लिभरपुलले भने फ्रिकिक प्राप्त गरेको थियो। त्यसअघि ५३औं मिनेटमा रोनाडोको गोल रुलआउट भएको थियो। युनाइटेडले यसअघि सन् १९५५ को फेब्रुअरीमा पनि म्यानचेस्टर सिटीसँग ५–० गोलको हार बेहोरेको थियो।
र, गएरातिको हारसँगै युनाइटेड १४ अंकका साथ सातौं स्थानमा कायम छ। यता, लिभरपुल २१ अंकका साथ दोस्रो स्थानमा छ। शीर्षस्थानको चेल्सीको २२ अंक छ।