काठमाडौं- रक्षामन्त्री डा. मीनेन्द्र रिजालले विश्व शान्ति स्थापनामा नेपाली सुरक्षा फौजको अथक प्रयास र दृढ शक्तिले नेपाललाई शान्ति सैनिकको देश भनेर परिचित गराएकामा गौरवको अनुभूति गराएको बताएका छन्।
संयुक्त राष्ट्रसंघको ७६औँ स्थापना दिवसका अवसरमा नेपाली सेनाद्वारा काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आइतबार आयोजित कार्यक्रममा उहाँले शान्ति सैनिकको अनुशासन, निर्देशनपालना र उच्चस्तरको व्यावसायिक कार्यले नेपाल राष्ट्रसङ्घको विश्वासिलो सहयात्री बन्न पुगेको बताए। रक्षामन्त्री डा रिजालले भने, 'नेपाल सधैँ शान्ति सेनाको सङ्ख्या मात्र होइन, गुणस्तर वृद्धि गर्न जोड दिन्छ भन्नेमा विश्वास दिलाउँछु।'
विश्वका द्वन्द्वरत मुलुकमा स्थापना भएका ४३ शान्ति मिसनमा रही एक लाख ३५ हजार ३९९ नेपाली शान्ति सैनिकले योगदान दिइसकेका छन्। हाल विश्वका १२ शान्ति मिसनमा रही १८१ महिलासहित पाँच हजार १६८ नेपाली शान्ति सैनिक परिचालित छन्। शान्ति स्थापनामा नेपाली सुरक्षा फौजले दिएको योगदान गौरवपूर्ण रहेको बताउँदै उनले आपसी विश्वास, सहयोग र सम्मानद्वारा राष्ट्रसङ्घ र नेपालबीच बलियो एवं अनुपम सम्बन्ध स्थापित भएको स्पष्ट पारे।
विश्वमा व्याप्त द्वन्द्व अन्त्य गर्न नेपाल संयुक्त राष्ट्रसङ्घ मिलेर काम गर्छ भन्ने प्रमाणका रुपमा शान्ति सेनामा धेरै सेना पठाउने सूचीमा नेपालको स्तरोन्नतिले पुष्टि गरेको उल्लेख गर्दै रक्षामन्त्री रिजालले नेपालको शान्ति प्रयासमा राष्ट्रसंघले गरिरहेका सहयोगको पनि प्रशंसा गरे। नेपाल धेरै शान्ति सैनिक पठाउने मुलुको सूचीमा दोस्रो नम्बरमा छ।
सबैसँग मित्रता, कसैसँग पनि वैरभाव नराख्ने मान्यतालाई नेपालले सधैँ पालना गरिहेको बताउँदै उहाँले राष्ट्र सङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानूनको उद्देश्य र सिद्धान्तप्रति दृढ विश्वास राख्दै आएको बताए। राष्ट्र संघको प्रयासमा शान्ति र मानवताका लागि योगदान दिने दिवंगत सैनिक र नागरिकप्रति श्रद्धाञ्जलि प्रकट गर्दै रक्षामन्त्री रिजालले घाइते सुस्वास्थ्यका लागि कामना गरेका छन्।
संयुक्त राष्ट्रसंघ र नेपाल
विश्वका राष्ट्रहरूबीच मैत्रीपूर्ण सम्बन्ध कायम गरी अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा स्थापना गर्ने उद्देश्यले २४ अक्टोबर १९४५ मा संयुक्त राष्ट्र सङ्घको स्थापना भएको हो। नेपालले भने सन् १९५५ डिसेम्बर १४ (विसं २०१२ मङ्सिर २९)मा संयुक्त राष्ट्र सङ्घको सदस्यता प्राप्त गरेको थियो। हाल राष्ट्र सङ्घका १९३ सदस्य र दुई पर्यवेक्षक मुलुक छन्। संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा मुख्यालय रहेको राष्ट्र सङ्घका हालका महासचिव एन्टोनियो गुटेरेस छन्।
संयुक्त राष्ट्रसंघको सबैभन्दा महत्वपूर्ण अङ्ग सुरक्षा परिषद्मा अमेरिका, चीन, रुस, बेलायत र फ्रान्स सदस्य छन्। नेपालसँग सन् १९६७–१९६८ र १९८८–१९८९ मा सुरक्षा परिषद्को अस्थायी सदस्यका रुपमा काम गरेको अनुभव छ। उक्त परिषद्मा १० मुलुक अस्थायी सदस्य छन्। संयुक्त राष्ट्र सङ्घको आह्वानमा नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी पठाएर योगदान पुर्याउँदै आएको छ।
शान्ति स्थापनाका सिलसिलामा ६८ नेपाली सैनिकले वीरगति प्राप्त गरेका छन् भने ६६ गम्भीर घाइते भएको सेनाले जानकारी दिएको छ। अहिले शान्ति सैनिक धेरै सङ्ख्या पठाउने मुलुकको सूचीमा नेपाल दोस्रो वरियतामा छ। राष्ट्र सङ्घबाट माग भई आएमा नेपालले १० हजारको सङ्ख्यामा सैनिक पठाउन सक्ने यसअघि नै प्रतिबद्धता जनाइसकेको छ।
सदस्य राष्ट्रलाई अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सुरक्षा, आर्थिक विकास र सामाजिक निष्पक्षतामा आपसी सहयोग गर्ने उद्देश्यले राष्ट्र सङ्घ स्थापना भएको हो। संयुक्त राष्ट्र सङ्घले नेपालको शिक्षा, स्वास्थ्य, गरिबी निवारण, क्षमता अभिवृत्तिलगायत मानवीय सहायताका क्षेत्रमा सहयोग र सहकार्य गर्दै आएको छ।