काठमाडौं– स्पेनमा वर्षमा केही दिन यस्ता हुन्छन्, त्यहाँका गल्ली सुनसान हुन्छन्। किनभने त्यो दिन रियल मड्रिड र बार्सिलोनाको फुटबल युद्ध चलिरहेको हुन्छ।
स्पेनिस फुटबलमा सबैभन्दा महत्वपूर्ण खेल हो– रियल मड्रिड र बार्सिलोनाको। त्यसलाई स्थानीय भाषामा ‘एल क्लासिको’ भनिन्छ। एल क्लासिको अर्थात महाभिडन्त। आज स्पेनिस फुटबल महारथिबीच राति आठ बजे महाभिडन्त सुरु हुनेछ।
ला लिगाको जारी सिजनको यो नै पहिलो एक क्लासिको हो, जुन खेल बार्सिलोनाको मैदान क्याम्प नाउमा हुँदैछ। त्यसो त बार्सिलोना र रियल मड्रिडबीचको खेलमा पछिल्लो १५ वर्षदेखि विश्वकै सर्वोत्कृट लियोनेल मेस्सी उपस्थित हुन्थे। उनीहरुको कप्तानीमा एल क्लासिकोमा पेचिलो भिडन्त हुन्थ्यो।
यता रियल मड्रिडका डिफेन्डर सर्जियो रामोसले खेलको रोचकता बढाउँथ्यो। तर अहिले रामोस र मेस्सीले एकै ड्रेसिङ रुम सेयर गरिरहेका छन्। उनीहरु फ्रान्सको राजधानी पेरिसमा छन्।
एक समय बार्सिलोनामा मेस्सीसहित नेयमार र लुइस सुआरेज थिए। यता रियल मड्रिडमा क्रिस्टियानो रोनाल्डो र ग्यारेथ बेल थिए।
ती खेलाडीको उपस्थितिले भिडन्तलाई धेरै रोमाञ्चक बनाउँथ्यो। तर १५ वर्षपछि एल क्लासिकोमा मेस्सीको उपस्थिति हुनेछैन। रामोसले रियल छोडिसकेको अवस्था छ भने त्यसअघि नै नेयमार र सुआरेजले क्लब छोडिसकेका छन्।
यता २०१८ मा रोनाल्डोले क्लब छोडेयता रियलको खेलले लय समाउन सकेको छैन। र, उसका महत्वपूर्ण खेलाडी पनि क्लबबाट बाहिरिसकेका छन्। त्यसैले आजको खेल रियल र बार्सिलोनाको लागि नयाँ पुस्ताको भिडन्तका रुपमा हुनेछ।
पछिल्लो समय रियल मड्रिड बार्सिलोनासँग भारी पर्दै आएको छ। बार्सिलोनले ला लिगाका चार खेलमा रियललाई हराउन सकेको छैन। तीन पटक रियलले जित निकाल्दा एक बराबरी भएको छ। यदि आजको खेलमा पनि बार्सिलोनाले जित निकाल्न नसके उसले पहिले लस ब्लांकोससँगको जित निकाल्न नसकेको रेकर्डसँग बराबरी गर्नेछ।
बार्सिलोनाले २००८ को सिजनमा लस ब्लांकोससँग पाँच खेलसम्म जित निकाल्न सकेको थिएन। आज त्यहि प्रतिद्वन्दीविरुद्ध आफ्नो मैदानमा उपस्थित हुँदा बार्सिलोना जित निकाल्ने दाउमा रहनेछ।
रियल मड्रिडले सबै प्रतियोगितामा गरेर बार्सिलोनाविरुद्ध पछिल्लो तीन खेलमा जित निकालेको छ। तर, उसले इतिहासमा सन् १९६५ पछि कहिल्यै बार्सिलोनालाई लगातार चारपटक हराएको छैन। आजको खेलमा रियलले बार्सिलोनालाई हराएमा उसले बार्सिलोनाविरुद्ध लगातार चारपटक जित निकाल्ने छ।
१९६५ मा भने उसले बार्सिलोनालाई लगातार सात पटक हराएको थियो। तर, आजको खेल बार्सिलोनाको मैदानमा हुँदैछ। त्यसैले बार्सिलोनालाई घरेलु समर्थकको पनि साथ रहनेछ। बार्सिलोनाले पछिल्लो ३५ खेलमध्ये ३४ खेलमा गोल गरेको छ। ती खेलका दौरान उसले ७९ गोल गरेको थियो। उसले घरमा एट्लेटिको मड्रिडसँग मात्र गोलरहित बराबरी खेलेको थियो।
केन्द्रमा फाटी र बेञ्जेमा
आजको खेलको केन्द्रमा रियलका करिम बेञ्जेमा र बार्सिलोनाका अन्सु फाटी हुनेछन्। दुवै टिमका फरवार्ड आजको खेलका मुख्य आकर्षण पनि हुन्। त्यस्तै, रियलका लागि गोल गर्दै आएको भिनिसियस जुनियर पनि आजको खेलको केन्द्रमा रहनेछन्।
तर बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानका अनुसार आजको खेलमा पेड्री उपस्थित हुनेछैनन्। रियल मड्रिडको लिस्टमा भने कार्भाजल र इडेन हजार्डले अवसर पाएका छन्। ला लिागमा सेभियाले लेभान्टेको सामना गर्नेछ भने रियल बेटिसले रायो भाल्लेकानोको सामना गर्नेछ।
–स्पेनी सञ्चारमाध्यमहरुको सहयोगमा