जुम्ला- जुम्लामा हवाइ उडान भर्ने सबैजासो एयरलाइन्स कम्पनीको टिकट एजेन्टले सुरु मै बुकिङ गर्ने भएकाले जुम्लाबासीले वर्षौदेखि यातना खेप्दै आइरहेका छन्। एजेन्टमार्फत टिकट वितरण हुने हुँदा यात्रुले मंहगो रकम तिर्नु परिरहेको छ। एयरपोर्ट स्थापनादेखि नै यो समस्या भए पनि समाधान गर्न तर्फ कुनै पनि निकाय अग्रसर भएको छैन।
टिकट सुरुमै एजेन्टले कब्जा गर्ने भएकाले यात्रुहरूलाई एयरलाइन्सको कार्यालय कहाँ छ भन्ने समेत थाहा छैन। कोही बिरामी भएर अस्पताल लैजानु परे पनि पहुचवाला वा एजेन्ट खोज्दै हिड्नु पर्ने बाध्यता रहेको यात्रुहरूको दुखेसो छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति महाशाखाले स्वीकृत गरेको तालिकाअनुसार जुम्लामा तारा एयरले मंगलबार र समिट एयरले शुक्रबार उडान भर्छन। यस्तै नेपाल एयरलाइन्सले आइतबार उडान भर्नु पर्ने तालिका छ। तर जुम्ला आउने जाने सबै यात्रु टिकटबिनै एयरपोर्ट पुग्छन्। उनीहरू टिकट होइन बोर्डिङपासक आधारमा यात्रा गर्ने गर्छन। जुम्ला एयरपोर्टमा यात्राका लागि पाँच सात दिन भौतारिनु सर्वसाधारणका लागि सामान्य भएको स्थानीय षडानन्द आचार्य बताउँछन्।
यस्तै, केन्द्रीय उपभोक्ता हित संरक्षण मन्च नेपालका उपमहासचिव विष्णु तिमिल्सेनाले सेडुअल फ्लाईटको अनुभूति यहाँका नागरिकले कहिल्यै गर्न नपाएको बताए। उनले भने, ‘म पनि २८ असोजदेखि एयरपोर्टमा विमान कुर्दै बसेको छु।’
प्रशासनको निर्देशन कार्यान्वयन नै हुँदैन
१३ भदौमा प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाई र एयरलाइन्सबीच टिकट पारदर्शिता रुपमा बिक्री गर्ने बिषयमा बैठक बसेको थियो। बैठकले पहिला आएका व्यक्तिलाई टिकट दिने निर्णय भएको थियो। एयरलाइन्सले इटिकटका लागि पहल गर्ने, स्वीकृत तालिका नियमित गर्ने, एयरलाइन्सको कार्यालयहरू स्थापना गर्नेलगायत विषयमा बैठकले निर्णय गरेको छ। तर बैठकका कुनै पनि निर्णय कार्यान्वयन भएको छैन। अहिले त झन जुम्लाबाट जहाज चढेका यात्रुले टिकट चाहिएको खण्डमा नेपालगन्जमा गएर टिकट प्रिन्ट गर्नेु पर्ने बाध्यता छ।
नागरिक उड्यन प्राधिकरण जुम्लाका अनुसार गत शुक्रवार तारा एयरले मात्रै जुम्लाका लागि उडान गरेको थियो। प्राधिकरण प्रमुख प्रकाश शर्माले अन्य जहाज नभएकाले ताराले मात्रै उडान गरेको बताए। तर यात्रुहरूले भने जहाज कम्पनीले नियमित उडानको सम्झौतालाई अटेर गरेका कारण जुम्लाका यात्रुले पटकपटक दुःख पाउँदै आएको बताएका छन्।
तालिका उडानका बारेमा नेपाल नागरिक उड्यन प्राधिकरणले ९ भदौ ०७८ मा प्रश्न सोधे पनि नेपाल वायूसेवा निगम, तारा एयर, समिट एयर, सिता एयरले जवाफ दिएका छैनन्। यहीँ कारण लामो समयदेखि जुम्लामा तालिका अनुसार उडान भएको प्रधिकरणले जनाएको छ।
यात्रुले कति सामान बोक्ने एजेन्टले तोक्छन्
जुम्लाबाट सुर्खेतसम्म यात्रा गर्ने एक यात्रुले १० किलो सामान लैजान पाउने नियम छ। यस्तै नेपालगन्जसम्म १५ किलो तोकिएको छ। कारणबस कुनै यात्रुको समान एक दुई किलो बढी भएमा एजेन्टले फाल्दिने गरेका छन्। तर पहँचुवाला र एयरपोर्टका एजेन्टका नातागोताले भने एकै जनाले ७० किलोसम्म सामान लान पाउँने एक यात्रुले आरोप लगाए।
जुम्लाबाट उडान भर्ने नेपाल वायुसेवा निगमको टिकट बिक्री भने कम्पनीमार्फत नै हुने गरेको छ। नागरिक उड्यन प्राधिकरण जुम्लाले नागरिकको सूचना पाउने हकको समेत कुन्ठित गरेको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए। उनले भने, ‘अहिलेसम्म जुम्लाका कुनै पनि नागरिकलाई जुम्ला–नेपालगञ्जका भाडा कति हो भन्ने जानकारी दिएको छैन।’
यस विषयमा सम्बन्धित निकाय मौन बस्दा नागरिकले मंहगीको मार खेप्दै आइरहेका छन्। जुम्लामा टिकट पाउन जनप्रतिनिधिदेखि मन्त्रीसम्मको पावर लाग्छ। जुम्ला सडक सन्जालमा जोडिए पनि वर्षायाममा बाढी पहिरोका कर्णाली राजमार्ग अवरुद्ध हुँदा एजेन्टहरूले मनलाग्दी भाडा असुल्ने गरेको यात्रुहरू बताउँछन्।
दिलमाया शाही/न्युज कारखाना