काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताएका छन्।
आइतबार प्रदेश १ को बाढीपहिरो ग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुगेका प्रधानमन्त्री देउवाले विशेष गरी किसानहरूको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका हुन्।
उनले बेमौसमी वर्षाका कारण देशभर आएको अविरल वर्षापछिको बाढी र पहिरोले ठूलो क्षति गरेको बताए। प्रधानमन्त्री देउवाले खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढीपहिरोले धेरै क्षति गरेको भन्दै सबैभन्दा पहिला गास, बास र किसानहरूको पीडामा मल्हम लगाउने काम सरकारले गर्ने बताए।
‘अहिलेको अवस्था बुझेको छु, काठमाडौं गएर छिट्टै राहत प्याकेज घोषणा गर्नेछौं, साधन स्रोत मागेरै भए पनि अहिलेको अवस्थामा पीडितहरूलाई सहयोग जुटाउँछौं', उनले भने। उनले बाढीपहिरोले ठूलो क्षति पुर्याएको बताए।
'हामी पीडितलाई ऋण लिएर भए पनि वासस्थानको र खानको लागि व्यवस्था गर्नेर्छौं, सरकारको पहिलो प्राथमिकता भनेकै यही हो, अहिले धानबालीमा धेरै क्षति भएको छ, त्यो समस्यालाई समाधान गर्नका लागि पनि हामी किसानलाई ऋण उपलब्ध गराउँछौं', प्रधानमन्त्री देउवाले भने।
प्रधानमन्त्री देउवाले बाढीपहिरो पीडितको उद्धार तथा राहत कार्यमा जुटने काम गरेकोमा सुरक्षाकर्मीहरूको समेत प्रशंशा गरेका थिए।