सुर्खेत- हिमपहिरोमा परेर मुगुमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मुगुम कार्मारोङ गाउँपालिका–४ का ३३ वर्षीय छिरिङ लामा रहेका छन्। सोही हिमपहिरोमा परेर ३७ वर्षीय कार्मासुण्डा लामा घाइते भएका छन्। छिरिङ र कार्मा सहोदर दाजुभाइ हुन्।
‘जडीबुटी खोजेर घर आउँदै गर्दा हिमपहिरो आएछ,’ कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधवप्रसाद श्रेष्ठले भने, ‘हिमपहिरोमा परेर भाइको मृत्यु भयो, दाइ घाइते छन्।’ उनीहरू दसैं अघि नै सात जना साथीहरूसँग तितेकटुकी जडीबुटी टिप्न हुम्लाको उत्तरी क्षेत्र चखेली गाउँपालिका मिमी गाउँको जंगल पुगेका थिए।
जडीबुटी टिपेर घर फर्कंदै गर्दा कार्तिक २ गते बिहान हिमपहिरोमा परेका थिए। पहिरोमा परेर छिरिङको घटनास्थलमै मृत्यु भएको थियो। हिमपात तथा पहिरोका कारण छिरिङ्को शवलाई ओडार (गुफा) मै छोडेर सुरक्षित स्थानमा पुगेका थिए।
घटना भएको पाँच दिनपछि कार्मासुण्डालाई आफन्तहरूले शनिबार मात्रै उपचारको लागि मुगु जिल्ला अस्पताल ल्याएको प्रहरीले जनाएको छ। घटनास्थल पुग्न मुगु सदरमुकाम गमगडीबाट झण्डै पाँच हिड्नुपर्छ। भौगोलिक विकटताकै कारण घाइतेलाई ढिलागरी अस्पताल पुर्याइएको हो। घाइते कार्मासुण्डाको दाइने हात भाँचिएको छ भने खुट्टामा गम्भीर चोट लागेको छ।
मुगु, हुम्ला र डोल्पाका स्थानीयहरू बर्खा र चाँडो मौसम बाहेक अन्य समयमा जडीबुटी खोज्ने हिमालतिर जाने गर्दछन्। यसपालिका कोरोना महामारीका कारण यार्सागुम्बा टिप्न नपाएका उनीहरू दसैं नमानेरै जडीबुटी खोज्न जंगल गएका थिए। यार्सागुम्बा, तितेकटुकी, जटामसी, घोडमर्च जस्ता जडीबुटी हिमाली भेगका नागरिकको मुख्य आयस्रोत हो।