काठमाडौं- इंग्लिस प्रिमियर लिग ईपीएलमा उपाधि दाबेदार चेल्सीले नर्विच सिटीविरुद्ध सानदार जित निकालेको छ। चेल्सीको मैदान स्ट्याम्फर्ड ब्रिजमा भर्खरै सम्पन्न खेलमा घरेलु टिमले पाहुना टोली नर्विचमाथि ७–० गोलको जित निकालेको हो।
चेल्सीको जितमा मेसन माउन्ट नायक रहे। उनले खेलमा ह्याट्रिक सहित एक एसिस्ट गरेका छन्। खेलको आठौं मिनेटमै गोल गरेर माउन्टले अग्रता बनाएका थिए।
यता १८औं मिनेटमा कलुम हुड्सन–ओडीले गोल गरे भने पहिलो हाफको अन्तिम गोल रिस जेम्सले गरे। जेम्सको गोलसँगै चेल्सीले पहिलो हाफमा ३–० गोलको अग्रता बनाएको थियो।
दोस्रो हाफमा चेल्सीको नाममा चार गोल रह्यो। जहाँ एक गोल नर्विचका म्यान्क आरोन्सले आत्मघाती गरेका थिए। आरोन्सको गोलअघि खेलको ५७औं मिनेटमा डिफेन्डर बिन चिलवेलले पनि गोल गरे।
खेलको अन्तिम समयमा माउन्टले पेनाल्टीको अवसरमा र इन्ज्युरी समयमा लोफ्टस चेकको पासमा गोल गरेर ह्याट्रिक पुरा गरेका थिए। खेलको ६५औं मिनेटमा नर्विचका बेन गिब्सनले दोहोरो पहेँलो कार्ड पाएपछि पाहुना टिम १० खेलाडीमा समेटिएको थियो। १० खेलाडीमा समेटिएको टिमविरुद्ध जित निकाल्दै चेल्सीले शीर्षस्थानमा चार अंकको अग्रता बनाएको छ।
ऊ १८ अंकसहित दोस्रोस्थानमा रहेको लिभरपुलभन्दा चार अंकले अघि छ। लिभरपुलले यो हप्तान्तमा अर्को बलियो टिम म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ। आजको खेलमा पराजित नर्वित भने तालिकाको पुछारमा छ।