काठमाडौं- धादिङका सुभाष भुजेललाई कोरोना संक्रमण पुष्टि भएर निको भएको ६ महिना पूरा भइसकेको छ। तर उनी अझै न त राम्रोसँग निदाउन सक्छन्, न त कुनै काम काम सहज तरिकाले गर्न सक्छन्। कोभिडपछि उनलाई झनै धेरै स्वास्थ्यमा समस्या देखिएको छ।
भुजेल भन्छन्, 'कयौं रात त ननिदाइ बित्यो, राम्रोसँग निद्रा लाग्दैन। सानो कुरामा पनि डर लाग्छ, शरीर कमजोर भएको महसुस हुन्छ, पहिला सहजै गरिने काम अचेल गर्न सक्छु भन्ने आँट पनि आउँदैन। अस्पताल गएर जँचाएँ, तर केही समस्या देखिँदैन, शरीर हट्टाकट्टा देखिन्छ तर मेरो जीवन निकै कठिन भएको छ।’
ललितपुरकी रिहाना योञ्जनको पनि समस्या उस्तै छ। कोभिड निको भएको दुई महिना पूरा भइसक्दा पनि उनलाई सहज महसुस भएको छैन। निद्रा नलाग्नु, थकान बढी हुनु, कपाल झर्नु, डर लाग्नु, आत्तिनु लगायतका समस्या झेलिरहेकी योञ्जन अहिले कार्यालयको काम पनि सहज रुपमा गर्न नसकेको बताउँछिन्। उनी भन्छिन्, 'पहिला एकैछिनमा सक्ने काम पनि अहिले घण्टौं समय लाग्छ, निरन्तर काम गर्नै सक्दिनँ।’
कोभिड–१९ संक्रमण भएर निको भएको लामो समयसम्म पनि श्वास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, जोर्नी दुख्नेजस्ता समस्या लिएर बिरामी अस्पताल पुगिरहेका छन्।
‘कुनै बिरामीमा त झण्डै एक वर्षसम्म पनि समस्या देखिएको छ। महामारी सुरु भएको डेढ वर्ष भएको छ, अझै यसबारे धेरै अनुसन्धान हुन बाँकी छ। विश्वमा यसबारे विभिन्न अध्ययन भएका छन्, तर पनि वैज्ञानिकहरुले यसबारे स्पष्ट बताउन सकेका छैनन्।’
संक्रमण भएको लामो समयपछि पनि लक्षण रहिरहने वा कोभिडसँग जोडिएर अन्य स्वास्थ्य समस्या आइपर्ने अवस्थालाई ‘लङ कोभिड' भन्ने गरिएको छ। चिकित्सकहरु यसलाई ‘पोस्ट एक्युट कोभिड–१९’ पनि भन्छन्।
कोरोनाको कहरमा जुध्न थालेको झण्डै दुइ वर्ष हुन लाग्दा नेपालमा आठ लाखभन्दा बढी मानिस कोरोना संक्रमित भइसकेका छन् भने ११ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ। नेपालमा विगत पाँच महिनादेखि कोरोना संक्रमण घट्दो क्रममा छ। विश्वव्यापी रुपमा कोरोना संक्रमितको ९० प्रतिशत संक्रमणमुक्त भइरहँदा ९७ प्रतिशत मानिस संक्रमणमुक्त भएका छन्। अर्को पक्ष कोरोना संक्रमणमुक्त भए पनि कोरोनाले मानिसलाई अन्य धेरै स्वास्थ्य समस्या थपिदिएको छ। कोरोना संक्रमणमुक्त भएर मात्रै मानिस खुसी हुनुपर्ने अवस्था देखिँदैन।
कोभिड निको भइसकेका मानिसलाई 'लङ कोभिड' को समस्या देखिँदा मानिस हैरान भएका छन्। चिकित्सकका अनुसार कोभिड निको भइसकेपछि पनि छिटोछिटो श्वासप्रश्वास हुनु, मानसिक र शारीरिक थकान हुनु 'लङ कोभिड'का लक्षण हुन्। त्यसबाहेक छाती दुख्ने, बोल्न गाह्रो हुने, डिप्रेसन, चिन्ता, ज्वरो, टाउको दुख्ने, तीव्र गतिमा कपाल झर्नेजस्ता लक्षण देखिएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन बताउँछन्।
कोभिडमुक्त भएर पनि अनेक समस्या देखिएपछि मानिसहरु दु:खी छन्। 'लङ कोभिड'का बिरामीमा लामो समयसम्म पनि विभिन्न लक्षण देखिएका छन्। डा. पुन भन्छन्, ‘कुनै बिरामीमा त झण्डै एक वर्षसम्म पनि समस्या देखिएको छ। महामारी सुरु भएको डेढ वर्ष भएको छ, अझै यसबारे धेरै अनुसन्धान हुन बाँकी छन्। विश्वमा यसबारे विभिन्न अध्ययन भएका छन्, तर पनि वैज्ञानिकहरुले यसबारे स्पष्ट बताउन सकेका छैनन्।’
'लङ कोभिड'को अहिलेसम्म औषधि वा उपचार पद्धति छैन। डा. पुन भन्छन्, ‘अन्य केही देशमा पोस्ट–कोभिड क्लिनिक सञ्चालन गर्ने गरिएका छन्। एनेस्थेसियाका चिकित्सक, फिजिसियन, मनोचिकित्सकको संयुक्त टोली त्यस्ता क्लिनिकमा हुन्छन्। तर नेपालमा पोस्ट कोभिडको कुनै ठोस कार्ययोजना देखिएको छैन।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनामुक्त भइसकेपछि पनि छिटोछिटो श्वासप्रश्वास हुनु, मानसिक र शारीरिक थकान हुनु 'लङ कोभिड'का लक्षण हुन्। त्यसबाहेक छाती दुख्ने, बोल्न गाह्रो हुने, डिप्रेसन, चिन्ता, ज्वरो, टाउको दुख्ने, तीव्र गतिमा कपाल झर्नेजस्ता लक्षण पनि देखिन्छन्।
कोरोना संक्रमणमुक्त हुन १४ दिन लागे पनि १४ दिनपछि पनि लक्षण रहिरह्यो भने त्यसलाई गम्भीर मानिन्छ। संगठनका अनुसार कसैलाई चार हप्तासम्म संक्रमण देखिए त्यसलाई ‘एक्युट कोभिड–१९’ भनिन्छ। त्यस्तै १२ हप्तासम्म लक्षण देखिए ‘अनगोइङ सिम्प्टोम्याटिक कोभिड–१९’ र १२ हप्ताभन्दा बढी लक्षण देखिइरहे 'लङ कोभिड' भनिन्छ।
खासगरी अस्पताल नै भर्ना गर्नुपरेका गम्भीर संक्रमितलाई 'लङ कोभिड'को जोखिम छ। त्यस्तै भारतमा करिब ३१ प्रतिशतलाई 'लङ कोभिड' भएको बताइएको छ।
सुरुमा कोभिड–१९ लागेर संक्रमणमुक्त भइसकेपछि पनि लामो समय विभिन्न शारीरिक र मानसिक स्वास्थ्य समस्याले सतायो। त्यो समयमा धेरैलाई ‘लङ कोभिड'को समस्या भन्ने थाहा नहुँदा अन्योल थियो। पोस्ट कोभिडका बारेमा जानकारी भएपछि अस्पतालमा आउनेको भीड बढ्न थालेको छ। तर अहिले फेरि मानिसले यसलाई बेवास्ता गरेको हो भन्ने चिकित्सकको चिन्ता छ। यसको ठोस उपचार नभए पनि मानिसहरुले बेवास्ता गर्दा थप समस्या हुनसक्नेप्रति उनीहरु चिन्तित बनेका हुन्।
विश्व स्वास्थ्य संगठनले कोरानाका बिरामी निको भएपछि पनि भाइरसको केही अंश शरीरमा रहिरहने बताएको छ। ती भाइरस केही समयसम्म निष्क्रिय हुन्छन्। त्यसपछि नयाँ तरिकाले शरीरलाई प्रभावित गर्न थाल्छन् र अन्य भाइरसको संक्रमणजस्तै व्यवहार देखाउने संगठनले जनाएको छ।
संगठनका अनुसार कोरोना संक्रमण भएका १० देखि ३० प्रतिशत बिरामीलाई 'लङ कोभिड' भएको छ। खासगरी अस्पताल नै भर्ना गर्नुपरेका गम्भीर संक्रमितलाई 'लङ कोभिड'को जोखिम छ। त्यस्तै भारतमा करिब ३१ प्रतिशतलाई 'लङ कोभिड' भएको बताइएको छ।
विश्वमा विभिन्न अध्ययन भएका छन्, पोस्ट कोभिड क्लिनिक पनि सञ्चालन भएका छन्। तर नेपालमा अहिलेसम्म कति जनामा 'लङ कोभिड' देखा परेको छ, उनीहरूलाई कस्तो लक्षण देखिएको छ, 'लङ कोभिड' कस्ता संक्रमितलाई भएको छ, यसका उपचार विधि के छन् भन्नेबारे अध्ययन भएको छैन।
केही अस्पतालले स्वस्फूर्त रुपमा पोस्ट कोभिड क्लिनिक सञ्चालन गरेका छन् तर सरकारका तर्फबाट कुनै कार्यक्रम वा अध्ययन नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल बताउँछन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. मेघनाथ धिमालका अनुसार 'लङ कोभिड'का बारेमा नेपालमा कुनै अनुसन्धान गरिएको छैन। 'अब भने हामीले अनुसन्धान सुरु गर्ने भनेका छौं। ६ महिनाभित्र अनुसन्धान सक्नेगरी तयारी गरेका छौं, जसका लागि समिति बनिसकेको छ,' उनले भने। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, वीर अस्पताल, पाटन अस्पताललगायत केही स्वास्थ्य संस्थाले भने पोस्ट कोभिड क्लिनिक सञ्चालन गरेका छन्।
शुक्रराज अस्पतालकाे रिसर्च युनिटका संयोजक डा. पुन भन्छन्, 'लङ कोभिड'सँग जोडिएको सबैभन्दा घातक तथ्यचाहिँ यसको असर शरीरका जुनसुकै अंगमा पनि देखिन सक्छ। यसबाट मस्तिष्क, फोक्सो वा मिर्गौलासम्म असर हुनसक्ने विभिन्न अध्ययनले देखाएको उनी बताउँछन्। अझ कुनै अध्ययनले त पुरुषमा भन्दा महिलालाई 'लङ कोभिड'को बढी असर गरेको देखाएको छ। त्यसैले नेपालमा पनि जतिसक्दो चाँडो यसको अध्ययन हुनु जरुरी रहेको उनले औंल्याए। डा. पुनका अनुसार वृद्धावस्थाका व्यक्ति, कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका व्यक्तिलाई बढी समस्या देखिएको छ।
मानिसमा छटपटी, बेचैनी, अनिद्रा, तनाव बढिरहेको छ। यस्तो बेलामा आफैंले पनि आफ्नो स्वास्थ्यको निगरानी गर्नुपर्छ।
मानसिक रोग विशेषज्ञ सरोज ओझा कोभिडको महामारीसँगै कोभिड लागेका र नलागेका मानिसहरुमा पनि एन्जाइटी (चिन्ता) बढ्ने, निद्रा नलाग्ने, डिप्रेसनलगायतका मानसिक समस्या देखिन थालेको बताउँछन्। कोभिड भएर निको भएको केही महिनापछि मानसिक समस्या लिएर अस्पताल आउने धेरै छन्। अर्को कुरा कतिपय मानिसलाई सोचाइले पनि गलाउँछ। उनी थप्छन्, ‘कतिपय अवस्थामा सोचाइकै कारण पनि असहजता हुन सक्छ। तर, त्यसो भन्दैमा साँच्चिकै समस्या हुने अवस्थालाई बेवास्ता गर्न मिल्दैन। सोचाइकै कारण मात्र थकित भएको, जिउ दुखेको नहुन सक्छ।
डा. ओझाका अनुसार कतिपय मानसिक समस्या रोगीलाई नै थाहा हुँदैन। भन्न खोजेको कुरा झट्ट याद नआउने जस्ता मानसिक स्वास्थ्य समस्या पनि 'लङ कोभिड'का लक्षणका रूपमा देखा परेको छ। मानिसमा छटपटी, बेचैनी, अनिद्रा, तनाव बढिरहेको छ। यस्तो बेलामा आफैंले पनि स्वास्थ्यको निगरानी गर्नुपर्छ।
'लङ कोभिड'को समस्या भोगिरहेका भुजेल भन्छन्, ‘कोभिड हुँदा मनमा एक किसिमको डर हुँदो रहेछ। आत्मबल भन्ने कुरा नै हराउँदोरहेछ, निकै कमजोर महसुस हुने रहेछ। त्यसैले गर्दा पनि पछिसम्म असर गर्ने हो जस्तो लाग्छ।