काठमाडौं- युरोपेली च्याम्पियन्स लिगअन्तर्गत बुधबार रातिको खेलमा माल्मोविरुद्ध जित निकालेको चेल्सीका दुई महत्वपूर्ण खेलाडी घाइते भएका छन्।
घरेलु मैदान स्ट्याम्फर्ड ब्रिजमा भएको खेलमा इंग्लिस क्लब चेल्सीले पाहुना टिम माल्मोविरूद्ध ४-० को सानदार जित निकालेको थियो।
सो खेलसँगै चेल्सीका स्ट्राईकर रोमेलु लुकाकू र टिमो वार्नर चोटग्रस्त भएका छन्। चेल्सीले पछिल्लो खेलमा युभेन्टसँग हार बेहोरे पनि बुधबार रातिको खेलमा जित निकाल्दै च्याम्पियन्स लिगमा पुनरागमन गरेको छ।
उसले पहिलो खेलमा जेन्टविरुद्ध १-० गोलको जित निकालेको थियो भने दोस्रो खेलमा युभेन्टससँग १-० गोलकै हार बेहोरेको थियो।
टुरिनको हारपछि बुधबारको जितका लागि चेल्सीका आन्द्रेस क्रिस्टियन्सन, जोर्गिन्हो र कई हभाटर्जले गोल गरे। दुवै पटक रोमोलु लुकाकूलाई माल्मोका खेलाडीले गोलस्कोरिङको डि बक्सभित्र लडाएपछि चेल्सीले २१ औं मिनेटमा र ५७ औं मिनेटमा पेनाल्टी पाएको थियो।
दुवै पटक जर्गिन्होले पेनाल्टीको सदुपयोग गर्दै गोल गरेका थिए। यता क्रिस्टियन्सनले खेलको नवौं मिनेटमा गोल गरे भने हभाटर्जले ४८ औं मिनेटमा गोल गरे।
७४ प्रतिसत समय बलमा नियन्त्रण बनाउँदै चेल्सीले जित निकालेको हो। यो जितसँगै ६ अंक बनाएको चेल्सी समूह एचको दोस्रो स्थानमा छ भने पराजित माल्मो अन्तिममा छ।
त्यस्तै, शीर्षस्थानको युभेन्टसको ९ अंक छ भने तेस्रो स्थानको जेन्टको तीन अंक छ। समूह एच अन्तर्गत बुधबार रातिकै अर्को खेलमा युभेन्टसले जेन्टविरुद्ध १-० गोलको जित निकालेको छ।