काठमाडौं– सरकारले बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको छ। यस्तै घाइते भएकाको उपचार पनि निःशुल्क गरिने भएको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
यस्तै घर बनाउन पाँच लाखसम्म दिइने भएको छ। सिंहदरबारस्थित प्रधानामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए। बैठकले राहत र उद्धार कार्यलाई प्रभावकारी बनाउन राज्यका सबै संयन्त्र परिचालन गर्ने पनि निर्णय गरेको छ।
बैठकले परिवारको एक जनामात्रै मृत्यु भएको अवस्थामा प्रतिपरिवार दुई लाख रुपैयाँ र एकजना भन्दा धेरैको मृत्यु भएको भए प्रतिव्यक्ति थप १ लाखका दरले राहत दिने निर्णय गरेको मन्त्री खाँणले जानकारी दिए।
यस्तै सरकारले बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले पहाडी क्षेत्रमा घर बनाउन चार लाख, हिमाली क्षेत्रमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने गृहमन्त्री खाँणले बताए। उनका अनुसार विपद् व्यवस्थापन समितिका तर्फबाट घरवारविहीन भएकाहरुलाई उपलब्ध गराउन तत्काल ५० लाख छुट्याइने पनि निर्णय भएको छ।
‘बाढीपहिरो प्रभावितको तत्काल खोज, उद्धार, राहतमा ध्यान दिने निर्णय भएको छ। त्यसका साथै पुनर्स्थापना र आवास निर्माणका विषयमा पनि छलफल भएको छ। आवास पुनर्निर्माणको मापदण्डबमोजिम सरकारले निजी आवास निर्माण गर्छ,’ मन्त्री खाँणले भने।
घर भत्किएकालाई ५० हजार राहत
सरकारले अविरल वर्षाका कारण वासस्थान भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ।बुधवार सिंहदरबारमा बसेको विपद् व्यवस्थापन परिषद्को बैठकमा वासस्थन भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो।
बैठकपछि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा।अनिल पोखरेलले बाढीपहिरोमा परेर बुधबार मध्याह्नसम्म ५२ जनाको निधन भएको जानकारी दिँदै तत्काल राहतका लागि सरकार लागिपर्ने बताए।
उनले बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गएको तीन दिनमा नेपालले भोग्नुपरेको घटना दुखद् भएको बताउँदै सबै सरोकारवाला निकायहरुलाई तत्काल राहत र उद्धारमा खटिन निर्देशन दिएको जानकारी दिए।
कार्यकारी प्रमुख पोखरेलका अनुसार बाढीपहिरोले क्षति पुर्याएको स्थानमा प्रधानमन्त्री देउवाले अवलोकन गर्ने भएका छन्। पोखरेलले बाढीपहिरोमा जनधनको ठूलो क्षति भएको बताउँदै किसानहरुलाई तत्काल राहतको व्यवस्था गरिने स्पष्ट पारे। कार्यकारी प्रमुख पोखरेलले पीडितको उद्धारका लागि अझै पनि पर्याप्त स्रोतसाधन नभएकाले धेरै क्षति भएको बताए।