काठमाडौं- एकता प्रेस छापाखानाका सञ्चालक खिमबहादुर शिवाकोटी हत्या आरोपमा सनीनरसिंह राणा पक्राउ परेका छन्। प्रहरीले राणालाई १७ वर्षपछि पक्राउ गरेको हो। २०६१ पुस २२ गते पुतलीसडकस्थित एकता प्रेस छापाखानाका सञ्चालक दोलखा भीमेश्वर–८ का शिवाकोटीमाथि रड र हेलमेट प्रहार भएको थियो। मोटरसाइकलमा आएका व्यक्तिले पार्किङका षियमा सामान्य विवाद हुँदा शिवाकोटीमाथि आक्रमण भएको थियो।
त्यसपछि सो समूह फरार भएको प्रहरीको भनाइ छ। घाइतेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो। लामो समयदेखि अनुसन्धान गर्दै खोजतलास गर्ने क्रममा उक्त घटनामा संलग्न भएका व्यक्तिमध्ये राणा पक्राउ परेको महानगरी प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राउ परेका राणा प्यूठान जिल्लाको मल्लरानी–४ का हुन्। राणालाई नियन्त्रणमा लिई प्रहरी वृत्त सिंहदरबारबाट कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको बताइएको छ। घटनामा संलग्न रहेको आरोप लागेका १० बा १६ प८६५४ नं.को मोटरसाइकल धनी ईश्वरी राणा र धनबहादुर गुरुङ भने फरार छन्।