विराटनगर- अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी प्रदेश १ मा ९ जना बालबालिकासहित २४ जनाको मृत्यु भएको छ। आठ जना बेपत्ता छन्। बाढीपहिरोमा परेर इलाममा ९, धनकुटा र पाँचथरमा ६–६, सुनसरीमा २ र उदयपुरमा १ जनाको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।
मृत्यु हुनेमा ९ महिला, ६ पुरुष, ७ बालक र २ बालिका छन्। बेपत्ताको खोजी कार्य जारी रहेको एसपी राईले बताए। अविरल वर्षाका कारण मोरङ, झापा र सुनसरी बढी प्रभावित छन्।
मोरङमा हजारौं घर डुबानमा परेका मोरङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विराटनगर १, २, ७, ८, ११, १२, १५, १७, १८ का सयौं घर डुबानमा परेको छ। बूढीगंगा गाउँपालिका १ र २, शान्ति चौक बस्ती डुबानमा परेको छ। रतुवामाई नगरपालिका ७ मा ३० घर डुबानमा परेको प्रहरीले जनाएको छ।