काठमाडौं– अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर देशभर ३५ जनाको मृत्यु भएको छ। २६ जना वेपत्ता भएका छन्। सुदूरपश्चिम प्रदेशमा मात्रै १४ जनाको मृत्यु भएको छ। यस्तै धनकुटामा ६ जना, हुम्लामा ६ जना, सुनसरीमा २ जना, सिन्धुली र कालीकोटमा एक–एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा पुरिएर बझाङमा २४ र पाँचथरमा २ जना वेपत्ता भएका छन्।
सुदूरपश्चिमको डोटीमा पहिरोमा पुरिएर एकै परिवारका चार जनासहित ९ जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार पहिरोमा च्यापिएर जोरायल गाउँपालिका वडा नम्बर ४ का एकै परिवारका ४२ वर्षीय शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीय पवित्रा विक र १६ वर्षीय रविन विकको मृत्यु भएको हो। जोरायल गाउँपालिका वडा नम्बर ३ का ६३ वर्षीय जोगी सार्कीको मृत्यु भएको छ।
डोटीकै सायल गाउँपालिका–६ खातिवाडामा घरमा सुतिरहेको अवस्थामा घर माथिबाट आएको पहिरोमा परेर दिलबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर कुन्जेडा र ११ वर्षीय छोरा आशिस कुन्जेडाको मृत्यु भएको छ। डोटीकै शिखर नगरपालिका वडा नम्बर ११ कि ३५ वर्षीय मन्धरा बलायरको पहिरोको ढुङ्गा लागेर मृत्यु भएको छ।
यस्तै सुदूरपश्चिमको बैतडीमा ३ र डडेल्धुरामा २ जनाको पनि पहिरोमा पुरिएर ज्यान गएको छ। बैतडीको शिवनाथ गाउँपालिकामा पहिराले घर बगाउँदा तीन जनाको मृत्यु भएको हो। डडेल्धुराको न्यापधुरा गाउँपालिका–१ भात्काडामा पहिरोले घर बगाउँदा ३२ वर्षीय विष्णु अवस्थीको र डडेल्धुरामा खोलाले बगाउँदा गन्यापधुरा गाउँपालिका वडा नम्बर ३ का अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको मृत्यु भएको हो।
पहिरोले घर पुरिँदा वेपत्ता भएका ६ जनाको शव भेटियो
हुम्ला पहिरोले घर पुरिँदा वेपत्ता भएका ६ जनाकै मृत्यु भएको छ। मृत्यु हुनेहरुमा खार्पुनाथ गाउँपालिका ५ खर्पेल गाउँका घरमुली धनविरे शाही, कलबहादुर शाही, धोक्ची शाही, हुमेश शाही, अलिन्द शाही र दुई वर्षिय नाबालक छन्। पहिरोले घर पुरिंदा बेपत्ता भएका ६ जनाकै शव आज बिहान भेटिएको हुम्लाका डीएसपी हेरम्भ शर्माले जानकारी दिए।
मृतकमध्ये चार जनाको मात्रै शव निकालेको छ भने बाँकी दुई जनाको शव निकाल्ने प्रयास भइरहेको छ। अविरल बर्षापछि आएको बाढीले हिजो राती करिव ८ बजेतिर पहिरोले घरसँगै परिवारका सबै सदस्यलाई पुरेको थियो।
टीका लगाउन आएका पाहुनासहित ६ जनाको मृत्यु
धनकुटाको चौबिसे गाउँपालिका–१ गडेरेमा पहिरोले घर भत्काउँदा टिका लगाउन आएका तीन जना पाहुँनासहित ६ जनाको मृत्यु भएको छ। मंगलबार राति खसेको पहिरोमा ६ जना घाइते छन्। प्रहरीका अनुसार मृत्यु हुनेमा एकैघरका ६० वर्षीय भीमबहादुर श्रेष्ठ, ९ वर्षीय विनोद श्रेष्ठ, ५ वर्षीया निर्जला श्रेष्ठ छन्।
यस्तै झापाको दमक नगरपालिका–११ घर भएका ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीया दिप्सन श्रेष्ठको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ। स्थानीयका अनुसार उनीहरु टिका लगाउन पाहुँना आएका थिए। पहिरोमा परि घाइते ६ जनामध्ये उषा श्रेष्ठ, सञ्जाल श्रेष्ठ र लीला श्रेष्ठको अवस्था चिन्ताजनक छ। घाइते सबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
पाँचथरमा ५ जनाको मृत्यु
अविरल वर्षासँगै गएको पहिरोमा पुरिए पाँचथरका विभिन्न स्थानमा ५ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार सदरमुकाम फिदिम, मिक्लाजुङ, फाल्गुनन्द र कुम्मायक गाउँपालिकामा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको हो।
फिदिम–४ जोरसालमा पहिरोले घर पुर्दा आमा–छोराको मृत्यु भएको छ। घर माथिबाट आएको पहिरोले पुरिएर २५ वर्षीया ममता मगर र ४ वर्षीय छोरा रोयल मगरको ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मिक्लजुङ, फाल्गुनन्द र कुम्मायकमा एक–एक जनाको ज्यान गएको छ भने विभिन्न स्थानमा २ जना बेपत्ता भएका छन्।
बझाङमा पहिरोमा पुरिएका २४ जनाको अवस्था अझै अज्ञात
पहिरोले पुरिएर वेपत्ता भएका बझाङका २४ जनाको अबस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। अहिले पनि वर्षा भइरहेका कारण वेपत्ताको खोजी हुन नसकेको स्थानीय पत्रकार मकरराज धामीले जानकारी दिए।
‘वर्षा भइरहेको छ, ठाउँ ठाउँमा अहिले पनि पहिरो खसिरहेको छ, प्रहरीले खोजी कार्य अगाडी बढाउन सकेको छैन्।’ उनले भने। थलारा गाउँपालिका–४ डिक्लाका ७ घर पहिरोमा पुरिँदा गगने सार्कीको परिवारका १८ जना र नरे पार्कीको परिवारका ६ जना बेपत्ता भएका हुन्।