काठमाडौं– सन् २००२ मा नेपाल भ्रमणमा आएका अमेरिकाका पूर्वविदेशमन्त्री कोलिन पावेलको कोरोनाको संक्रमणका कारण सोमबार निधन भएको छ। ८४ वर्षको उमेरमा निधन भएका अमेरिकाका पहिलो अश्वेत विदेशमन्त्री पावेलले लामो समयसम्म रिपब्लिकन पार्टीको विदेश नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खलेका थिए।
शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारका पालामा भारत र पाकिस्तान भ्रमण सकेर पावेल नेपाल आएका थिए। सन् २००१ मा अमेरिकामा आतंकवादी हमला भएपछि अफगानिस्तानमा आक्रमण गरेको अमेरिकाले नेपालमा पनि माओवादीविरुद्ध सरकारी कारबाहीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो। माओवादीले ०५८ मंसिरमा दाङमा नेपाली सेनाको ब्यारेकमा आक्रमण गरेर शान्तिवार्ता भंग गरेपछि सरकारले संकटकाल लगाएर माओवादीलाई आतंककारी घोषणा गरेको थियो। तत्कालीन अमेरिकी विदेशमन्त्री पावेलले माओवादीविरुद्ध सरकारी कारबाहीमा ऐक्यबद्धता जनाउँदै थप सहयोगको आश्वासन दिएका थिए।
को थिए पावेल?
अमेरिकी सेनाका पूर्व सेनापतिसमेत रहेका पावेल अश्वेत राष्ट्रिय सुरक्षा सल्लाहकार थिए। भियतनाम युद्धबाट सुरु भएको उनको सैनिक जीवन खाडी युद्धमा जितपछि राष्ट्रिय स्तरमा लोकप्रिय बनेको थियो। सन् १९९६ र सन् २००० मा पनि रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बन्ने सम्भावना भए पनि चुनावी प्रतिस्पर्धामा खासै रुचि नदेखाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणपछि सुरु भएको आतंकवादविरुद्धको युद्धमा पावेलकै नेतृत्वमा अमेरिकी सरकारले अन्तर्राष्ट्रिय समर्थन जुटाएको थियो। सन् २००२ मा पावेलले नेपालको औपचारिक भ्रमण गरेका थिए। नेपाल भ्रमण गर्ने पावेल उच्च अमेरिकी अधिकारीमध्येमा पर्छन्।
राजा महेन्द्रले सन् १९६० र १९६७ मा दुईपटक र राजा वीरेन्द्रले सन् १९८३ मा एकपटक अमेरिकाको राजकीय भ्रमण गरेका थिए। त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मे २००२ मा अमेरिकाको भ्रमण गरेका थिए।
सन् १९४७ मा नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको थियो। अमेरिकी उपराष्ट्रपति स्पाइरो एग्नेउ सन् १९७० मा नेपाल भ्रमणमा आएका थिए। राजा महेन्द्रले सन् १९६० र १९६७ मा दुईपटक र राजा वीरेन्द्रले सन् १९८३ मा एकपटक अमेरिकाको राजकीय भ्रमण गरेका थिए। त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मे २००२ मा अमेरिकाको भ्रमण गरेका थिए। पावेलको भ्रमणपछि अमेरिकाबाट नेपालमा कुनै हाइप्रोफाइल भ्रमण भएको छैन।
तत्कालीन प्रधानमन्त्री देउवासँगको भेटपछि संयुक्त पत्रकार सम्मेलनका क्रममा पावेलले भनेका थिए-
धन्यवाद, प्रधानमन्त्री ज्यू। नेपाल र यहाँका जनतासँग हाम्रो स्थायी मित्रताको पुष्टि गर्नका लागि काठमाडौं आउन पाउँदा म खुसी छु। मैले राजा (तत्कालीन राजा ज्ञानेन्द्र शाह), प्रधानमन्त्री र अन्य नेपाली अधिकारीहरुसँग उत्कृष्ट बैठकहरु गरेको छु र उहाँहरुको आतिथ्यका लागि धन्यवाद दिन्छु।
म सन् १९५१ मा विश्वका लागि खुला गरिएपछि अमेरिकाको एक असल मित्र नेपालको लामो समयदेखि भ्रमण गर्न चाहन्थें। धेरै अमेरिकीहरु नेपालको बारेमा सोच्दा माउन्ट एभरेस्ट (सगरमाथा) को बारेमा सोच्छन्। नेपालका हिमाल वास्तवकै अद्भूत छन्। हिमालहरुले नै आगन्तुकलाई लोभ्याउँछन्। तर, नेपाली जनताले नै उनीहरुलाई आफ्नो न्यानोपन र मित्रताले मोहित पार्छन्। नेपालको एक बहुजातीय, बहुसांस्कृतिक समाजमा सहिष्णुता र सम्मानको बलियो परम्परा हामी सबैको लागि नमुना हो। आधा शताब्दीमा मात्रै पनि नेपालले लामो यात्रा तय गरेको छ, विशेषगरी प्रजातन्त्रको पुनर्स्थापनापछि विकास तीव्र भएको छ। नेपालीको औसत आयु ३० वर्षले वृद्धि भएर ५६ वर्ष पुगेको छ। साक्षरता एक प्रतिशतभन्दा कमबाट करिब ५० प्रतिशत पुगेको छ।
नेपालको प्रगतिले हामीलाई खुलापन र लोकतन्त्रले नै नेपाली जनताको सबैभन्दा राम्रो भविष्य प्रदान गर्दछ भन्ने कुरा सम्झाउँछ। ५० वर्षभन्दा बढी समयदेखि नेपालको प्रगतिमा संयुक्त राज्य अमेरिकाले खेलेको भूमिकामा म गर्व गर्दछु। हामीसँग बलियो अमेरिकी सहायता कार्यक्रम यूएसएड छ, फुलब्राइट कार्यक्रम छ। विगत ४० वर्षदेखि एक जीवन्त शान्ति सेनाको उपस्थिति छ। म संयुक्त राज्य अमेरिका नेपाली जनतालाई विकासको निरन्तर मार्गमा सहयोग गर्न प्रतिबद्ध रहेको कुरा निश्चित गर्न चाहन्छु।
हामी नेपालको आर्थिक विकासमा निरन्तर सहयोग गर्न प्रतिबद्ध छौं। हामी जान्दछौं कि नेपाललाई विदेशी लगानी चाहिएको छ र चाहन्छ। लगानी आकर्षित गर्न नेपाललाई शान्ति चाहिएको छ। नेपाललाई सुरक्षाको खाँचो छ। नेपालले भ्रष्टाचारविरूद्ध लड्न, पारदर्शिता बढाउन र स्वस्थ लगानीको वातावरण बनाउन एक राम्रो नियामक ढाँचा अपनाउनुपर्छ। नेपालले यस्ता उपाय अपनाएमा डब्ल्यूटीओको सदस्यताका लागि उसको उम्मेदवारीको सम्भावना वृद्धि हुन सक्छ र निःसन्देह यो एक सक्षम लक्ष्य हो।
अन्तर्राष्ट्रिय आतंकवादसँग लड्न नेपालको सहयोगका लागि धन्यवाद। सेप्टेम्बर ११ को आतंकवादी हमलामा अमेरिकी जीवनको क्षतिप्रति सबै क्षेत्रबाट नेपालीले व्यक्त गरेको दुःखको राष्ट्रपति बुस र अमेरिकी जनताले उच्च कदर गरेका छन्। यसको बदलामा, राष्ट्रपति बुस र अमेरिकी जनताको तर्फबाट गत जुनमा नेपाली शाही परिवारका धेरै सदस्यहरुको दुखद निधनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। दुर्भाग्यवश, नेपाल हिंसाका लागि अपरिचित छैन, किनकि हामी नेपाली जनता, प्रहरी र सेनाविरुद्ध माओवादीहरुको भर्खरको आक्रमणलाई पनि सम्झिरहेका छौं। लोकतन्त्रमा राजनीतिक परिवर्तन ल्याउनका लागि हिंसाको कुनै ठाउँ छैन।
हामी नेपाल सरकारको आफ्नो नागरिक र संस्थाहरुलाई आतंकवादी हमलाबाट बचाउने अधिकारलाई पूर्ण रुपमा स्वीकार गर्दछौं। जे होस्, हामी आशा गर्दछौं कि आपतकालको वर्तमान स्थिति सीमित अवधिको हुनेछ र हामी निर्वाचित सरकारलाई यो आपतकालीन अवस्थामा मानवअधिकारको रक्षामा ध्यान केन्द्रित गर्नका लागि प्रोत्साहित गर्दछौं। अन्त्यमा, मैले यस क्षेत्रको महत्त्वपूर्ण र कठिन समयका बाबजुद क्षेत्रीय सार्क शिखर सम्मेलनको सफलतापूर्वक आयोजना गर्न नेपाल सफल भएकोमा बधाई दिएको छु। र प्रधानमन्त्री, तपाईं र तपाईंको श्रीमतीको न्यानो आतिथ्यका लागि धन्यवाद।