काठमाडौं- सरकारले राष्ट्रिय खेलकुद परिषद्का विवादित सदस्य सचिव रमेश सिलवाललाई पदमुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई पदमुक्त गरेको हो।
सिलवाल २०७७ साउन १२ गते सोमबार राखेप सदस्य सचिवमा नियुक्त भएका थिए। मन्त्रिपरिषद् बैठकले नै सिलवाललाई चार वर्षको लागि सदस्य सचिवमा नियुक्त गरेको थियो।
सिलवाल खुला प्रतिस्पर्धाबाट नै सदस्य सचिव नियुक्त भएका थिए। आवेदन दिएका २७ जनामध्ये सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो। तत्कालीन केपी ओली सरकारले निवर्तमान सदस्य सचिव सिलवाललाई पुनः नियुक्ति गरेको थियो।
सिफारिस समितिले सिलवालसँगै लिलबहादुर थापा मगर र अञ्जु श्रेष्ठको नाम युवा तथा खेलकुद मन्त्रालय पठाएको थियो। युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रिमबहादुर रानाभाट र इन्दिरा निरौला सदस्य रहेको सिफारिस समितिले आवेदन दिनेमध्येबाट एक महिलासहित तीन जनाको नाम मन्त्रालयमा पेस गरेको थियो।
‘राष्ट्रिय खेलकुद विकास ऐन, २०७७’ लागू भएसँगै रिक्त रहेको सदस्य सचिव पदका लागि पहिलो पटक खुला आवेदनबाट राखेपको सदस्यसचिव छानिएको हो।
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली निकट सिलवाल विभिन्न समयमा विवादमा आउने गरेका छन्। सिलवाल २०७२ सालमा राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको विवादित नेपाल क्रिकेट संघको तथर्द समितिका अध्यक्ष थिए।
त्यसअघि २०६३ मा उनी क्यानको सदस्य थिए। उनले तत्कालीन क्यानको क्षेत्र नम्बर २ को संयोजकको जिम्मेवारी समेत पाएका थिए।सिलवाल मदन भण्डारी स्पोर्टस एकेडेमीका पूर्वअध्यक्ष समेत हुन्।
सिलवाल सञ्चालक रहेको गोल्डेनगेट कलेजले फ्रेन्चाइज क्रिकेटमा आफ्नो टिम किनेको छ। धनगढी प्रिमियर लिग (डीपीएल) मा गोल्डेनगेटको स्वामित्वमा रहेको काठमाडौं गोल्डेन्सले सहभागिता जनाउँदै आएको छ।