बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ९८ प्रतिशत बालविवाह स्वेच्छाले, परिवारबाटै उक्साइन्छ बिहे गर्न

९८ प्रतिशत बालविवाह स्वेच्छाले, परिवारबाटै उक्साइन्छ बिहे गर्न

दैलेख ठाटीकाँध गाउँपालिका–२ कि धना विक अहिले २३ वर्षको भइन्। २२ वर्षको उमेरमा उनको २ वटा सन्तान जन्मिइसकेका छन्।
 |  शुक्रबार, असोज २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २९, २०७८

दैलेख- दैलेख ठाटीकाँध गाउँपालिका–२ कि धना विक अहिले २३ वर्षको भइन्। २२ वर्षको उमेरमा उनको २ वटा सन्तान जन्मिइसकेका छन्। १५ वर्षको कलिलो उमेरमा बिहे गरेकी धनाले १७ वर्षको उमेरमा पहिलो सन्तान र १९ वर्षको उमेरमा दोस्रो सन्तान जन्माइन्। 

बालविवाहका कारण  दुईवटा सन्तान पालनपोषणमा समस्या आएपछि उनी र उनका श्रीमान रोजगारीको सिलसिलामा भारत पुगे। रोजगार खोज्दै भारत पुगेका दम्पती दुःख सुख  गरी साँझबिहानको छाक टारिरहेका थिए। 

तर, एक्कासि दुर्घटनामा परी श्रीमान गुमाउनुपर्‍यो। त्यसपछि धनाका दुःखमाथि दुःख थपिए। ‘सानैमा बालविवाह गरेँ। उबेला बालविवाह भनेको के हो भन्ने थाहै थिएन’, धनाले भनिन्, ‘श्रीमानको मृत्युपछि ऋण काढेर नेपाल फर्किएँ। अर्कैको घरमा बास छ। अहिले गाँसबास नहुँदा दुई छोरा कसरी पाल्ने भन्ने पिरलो छ।’ 

सानै उमेरमा विवाह गरेपछि १७ वर्षमै पहिलो सन्तान जन्माएकी उनलाई त्यसपछि घर र बच्चाको जिम्मेवारीले च्याप्यो। कसैले पनि बालविवाह गर्नुहुँदैन, सानैमा विवाह गरे पढ्न पाइँदैन नभन्दा अहिले दुःखका पहाडले थिचिनुपरेको वेदना धना सुनाउँछिन।

‘बिहे गर्ने मन थिएन’, उनले भनिन, ‘घरमा आमाबुबाको जबर्जस्तीले बिहे गर्नुपर्‍यो। अहिले यसरी दुःख पाइन्छ भन्ने थाहा पाएको भए बिहे गर्ने थिइनँ।’ 

धनाजस्तै सोही ठाउँकी परु विकले पनि १५ वर्षको कलिलै उमेरमा भागी विवाह गरिन्। ‘उबेला कक्षा ६ पढ्दै थिएँ। पढ्दापढ्दै मन चञ्चल भएर के–के न, होला भनेर भागी बिहे गरेँ, ‘उनले भनिन्, ‘घरमा आमाबुबाले भनेको मानिनँ। पोइली घर कस्तो होला भनेर भागिआएँ। अहिले समस्यैसमस्या छन्।’ 

धना र परु विक एक प्रतिनिधि पात्रमात्र हुन्। कर्णालीका सबैजसो जिल्लामा उमेर नपुगी विवाह गर्ने चलन व्याप्त छ। २० वर्ष नपुग्दै विवाह गर्ने बालबालिकाको संख्या उच्च छ। प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महाशाखाले केही समय पहिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कर्णालीमा ५२ प्रतिशत बालविवाह हुने गरेका छन। परिवारको सहमतिमा मागीभन्दा भागी बिहे गर्नेको संख्या अत्यधिक छ।

९८ प्रतिशत बालबालिका आफ्नै इच्छाले भागेर बिहे गर्छन्।

बालविवाह गर्नेहरूमध्ये ९८ प्रतिशत बालबालिका आफ्नै इच्छाले भागेर बिहे गर्ने गरेको पाइन्छ। तथ्याङ्क हेर्दा बहुसंख्यक बालविवाह बालबालिकाकै चाहनाअनुसार भएका छन्। परिवारको अवरोधकाबीच भागेर विवाह गर्नेको संख्या ठूलो छ।

बालविवाह उच्च हुनुमा चेतनाको कमि, गरिबी, सामाजिक एवं सांस्कृतिक मान्यता र लैङ्गिक विभेदजस्ता कारणहरू रहेको बालबालिकाका क्षेत्रमा कार्यरत संस्थाहरूले जनाएका छन्। बालविवाह न्युनीकरणमा वर्षौंदेखि सरकारी तथा गैरसरकारी संस्थाहरू क्रियाशील भए पनि यसको दर घटेको छैन। न्यूनीकरण हुनुको साटो झन बढिरहेको तथ्याङ्कले देखाउँछ। बालविवाह रोक्न अभियान चलाइरहेकै ठाउँको अवस्था नसुध्रिएको स्वयं अभियानकर्ताहरूले बताएका छन्।

धेरै बालविवाह हुनेमध्येको जिल्ला सुर्खेत

प्रदेशमै धेरै बालविवाह हुनेमध्येको जिल्ला सुर्खेत पर्छ। यहाँ बालविवाहको अवस्था अहिले पनि भयावह छ। महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्दै आएको आवाज संस्थाले सञ्चालन गरेको बाल हेल्प लाइनमा गत आर्थिक वर्ष २९ वटा घटना दर्ता भएका थिए। आवाजमा मात्रै महिनामा चार/पाँचवटा बालविवाहका घटना आउने गरेको जनाइएको छ। 

प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा गत आर्थिक वर्षमा सात वटा बालविवाहका उजुरी परेका थिए। उमेर नपुगी बिहे गर्न कानुनले समेत प्रतिबन्ध गरेकाले सबैजसो बालविवाहका घटना सार्वजनिक हुँदैनन। प्रहरी र संघ–संस्थासम्म न्यून संख्यामा मात्र उजुरी पर्ने गरेका हुन्।

दैलेखमा वैशाखयता १७ वटा घटना दर्ता

दैलेखमा गत वैशाखयता १७ वटा बालविवाहका घटना दर्ता भएको बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले बताइन्। उनका अनुसार सामाजिक सेवा केन्द्र (सोकेक)ले सञ्चालन गरेको टोल फ्रि नम्बर, बाल क्लव, महिला समूह र किशोरीहरूमार्फत बालविवाहका घटना जानकारीमा आउने गरेका छन। ६ महिनाको अवधिमा भएका १७ वटा बालविवाहमध्ये १५ बालिका र दुई जना बालक छन्।

उनीहरूले आफ्नो उमेर नगुग्दै बिहे गरेका हुन्। सानैमा बिहे गर्नेमा बालकभन्दा बालिकाहरू धेरै रहेको बाल हेल्पलाइन संयोजक श्रेष्ठ बताउँछिन्। उमेर नहुँदै विवाह गर्ने अधिकांश जोडिलाई दुुवैका अभिभावकको रोहबरमा छलफल गरी अभिभावककै जिम्मा लगाउने गरिएको छ।

कालिकोटमा पनि बालविवाह अत्यधिक छ। त्यहाँस्थित बालअधिकार अनुगमन अधिकृत प्रभा विकले बालविवाह न्यूनीकरणमा थुप्रै चुनौतीहरू रहेको बताइन्। उनका अनुसार अभिभावकै राजीखुसीमा समेत यहाँ धेरै बालविवाह हुन्छ। अभिभावकलाई बालविवाहको असरको बारेमा थाहा हुदाहुँदै पनि यस्ता घटनामा कमि आउन नसकेको उनी बताउँछिन।

कर्णालीका अन्य जिल्लामा पनि बालखैमा बिहे गर्ने चलन अधिक छ। सल्यान, जुम्ला, मुगु, जाजरकोट र रूकुम–पश्चिममा बालविवाहका धेरै घटना हुने गरेका हुन्। गएको वर्ष सल्यानमा तीन र जुुम्लामा दुईवटा उजुरी प्रहरीमा दर्ता भएका थिए। अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा सल्यानमा पाँच, सुर्खेतमा एक, दैलेखमा एक र रूकुम–पश्चिममा दुईवटा उजुरी दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

गत आर्थिक वर्ष २०७७/०७८ मा सुर्खेतमा सात, दैलेखमा ६, सल्यानमा चार र जुम्लामा दुईवटा बालविवाहसम्बन्धी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। बालबालिकाका क्षेत्रमा कार्यरत संस्थाहरूले कोरोना महामारीपछि बालविवाह झन बढेको बताएका छन्। महामारीले रोजगारी गुमेपछि परिवारहरूमा गरिबी बढेको र त्यसले बालविवाह झन बढाएको उनीहरूको तर्क छ।

घरपरिवारबाटै बालविवाह गर्न उक्साइन्छ

बालबालिका किशोरावस्थामा प्रवेश गरिसकेपछि यौन चाहना तीव्र वृद्धि हुने, उपयुक्त ढंगले यौनशिक्षाबारेका सकारात्मक अनि र नकारात्मक पक्षमा जानकारी नदिइँदा लहलहमै बालविवाह गर्ने गरेको बाल अधिकारकर्मी सज्जना सुनार बताउँछिन। 

‘अर्को ग्रामीण भेगमा घरपरिवारबाटै अभिभावकले बालविवाह गर्न उक्साएका हुन्छन’, उनले भनिन्, ‘कुनै काम बिगार्दा अभिभावकले नै बिहे गर्ने उमेरमा काम बिगार्ने भन्छन्। अनि, बालबालिका उमेर पो भइसकेछ भनेर बिहे गर्छन्।’

कम उमेरमा विवाह गर्नु कानुनविपरीत मात्र होइन स्वास्थ्यका दृष्टिले पनि जोखिमपूर्ण मानिन्छ। बालविवाहले सक्षम र स्वाभिमानी बन्नमा समेत बाधा पुर्‍याउने जानकारहरू बताउँछन। बालविवाह निरूत्साहित गर्न सरकारी निकायले नै रणनीतिक योजना बनाएर सोहीअनुसार कार्यक्रम सञ्चालन गर्नुपर्ने अभियान्ताहरूले जनाएका छन्। सरकारी तथा गैरसरकारी क्षेत्रबाट बालविवाह रोकथाम तथा नियन्त्रणका लागि थुप्रै प्रयास भएका पनि छन्। तर, कानुनी रूपमै वर्जित भए पनि बालविवाहका घटनामा भने कमि आएको छैन।  -न्युजकारखाना

प्रकाशित: Oct 15, 2021| 18:20 शुक्रबार, असोज २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।