दैलेख- पाँचवटा बाजाहरूको समूहलाई पञ्चेबाजा भनिन्छ। कुनै बेला चाडबाड नजिकिँदा होस् वा अन्य कुनै मेला पर्वमा बाजा घन्किन्थे। कर्णाली तथा सुदूरपश्चिममा घन्किने पञ्चेबाजा पहिलेजस्तै अहिले घन्किनै छोडेका छन्। बढ्दो आधुनिकतासँगै र व्यावसायिक नबन्दा लोप हुने अवस्थामा पुगेका छन्। कुनै समय पञ्चेबाजा भन्नेबित्तिकै सानादेखि वृद्धवृद्धासम्म हुरूकै हुन्थे। बढ्दो आधुनिसँगै पञ्चेबाजा घन्किनै छोडेका छन्।
पञ्चेबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाइ पर्दछन्। पन्चेबाजा, नेपाली धार्मिक एबम सांस्कृतिक बाजाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो। यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ। विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजाआजाका बेलामा पञ्चेबाजा बजाइन्छ।
पहिलेपहिले छोराछोरीको विवाह सिजनभरि दैनिकजसो पञ्चेबाजाको आवाज घन्किथ्यो। पञ्चेबाजा बज्ने बित्तिकै वल्लोपल्लो, तल्लोमाल्लो गाउँका मानिसको ओइरो लाग्ने गथ्र्यो। बाजा बजाउनेको व्यवस्था पनि उस्तै राम्रो हुन्थ्यो। पञ्चेबाजासँगै महिला रतेउली, हुड्के, पुरुष देउडा खेल, श्रमनाच र युवायुवती घिनघिन मादलको तालमा उफ्रिउफ्रि नाच्दै रमाइरहेका हुन्थे।
सबैतिर उल्लास र उमंग हुने भएकाले दिनभरि काम गरेर आएका मानिसलाई थकान महसुस हुँदैन थियो। धीत मरून्जेल हेर्थे, रमाउँथे। तर, केही वर्षयता भने बढ्दो आधुनिकतासँगै बिहेवारी तथा चाडबाडमा पञ्चेबाजा बज्नै छाडेको छन्। शिक्षादीक्षा र रोजगारीमा शहर छिर्नेको संख्या बढेसँगै गाउँघरमा पञ्चेबाजाको ध्वनि सुनिन छाडेको छ।
युवाहरू विदेश पलायन
युवाहरू सबैजसो रोजगारिको लागि विदेशिएपछि जिल्ला वा गाउँका विभिन्न सभा, समारोहमा बालबालिका र वृद्धवृद्धाले कमै मात्र बाजागाजा बजाएको देख्न पाइन्छ। बिहेको शैली फेरिए पनि पञ्चेबाजा पुरानो संस्कृति भएकाले यसलाई बचाइ राख्न सबै क्षेत्रबाट सबैले सहयोग गर्नुपर्ने दैलेखको ठाटीकाँध गाउँपालिका–२ का भोजने नेपाली बताउँछन्।
‘आधुनिक प्रविधि भित्रिएसँगै गाउँमा पञ्चेबाजाको महत्व कम हुँदै गएको छ। यसको संरक्षणमा चासो राख्न जरुरी छ’, उनले भने। नौमती बाजा लोप हुँदै जान थालेपछि यी बाजा बजाउनेहरू पनि अन्य आधुनिक बाजा बजाउने तथा नयाँ पेसालाई अँगाल्न थालेको स्थानीय ज्येष्ठ नागरिकहरू बताउँछन्। ठाटीकाँध –२ का लालचने नेपाली पुरानो चिनारीका रूपमा रहेको बाजा लोप हुन थालेकाले यसको संरक्षण गर्नुपर्ने बताउँछन्।
व्यावसायिक बन्न सकेन पञ्चेबाजा
नेपाली समुदायले परमपरागत रूपमा बजाउँदै आएको पञ्चेबाजा व्यावसायिक नबन्दा र नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको छ। दिनभरि बाजा बजाएर भनेजस्तो ज्याला नपाउनुजस्ता समस्याले युवाहरू विदेश पहलायन हुने क्रम बढेसँगै पञ्चेबाजा लोप हुँदै गएका छन्।
नेपाली लोकसंस्कृति झल्किने कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा ख्यातिप्राप्त नौमती बाजा लोप हुने खतरामा छ। आधुनिकता सँगै अन्य बाजाको प्रभाव र परम्परागत रूपमा बाजा बजाउनेको पेसालाई संरक्षण गर्न नसकिँदा र उचित ज्यालाको व्यवस्था नहुनुले अहिले यो बाजा लोप हुने अवस्थामा पुगेको ठाटीकाँध–२ का कासीराम नेपाली बताउँछन्।
‘बाजा बजाउने दमाई जातिहरूमा पुराना पुस्ताले नयाँ पुस्तालाई सिकाए पनि उनीहरूको निरन्तर आम्दानी सोही क्षेत्रमा हुन नसक्दा विदेश पलायन हुनेको संख्या बढेको छ’, उनले भने, ‘बाजेबुबाहरूले बजाउदै आएको बाजा हामीले सिक्यौँ, नयाँ पुस्तालाई सिकायौँ, तर दैनिक आम्दानीको स्रोत बन्न नसक्दा आर्थिक अभाव झेल्नुपरेको छ।’
यो क्षेत्रमा आफ्नो भविष्य पनि छैन। अन्य पेसामा आवद्ध हुनुपर्ने कारणले पञ्चेबाजा निरन्तर आम्दानीको पेसा बनेको छैन। बिहे व्रतबन्धमा गयो भने ५/६ हजार मात्र पाउँछन्, त्यही रकम बराबर बाँड्दा चार पाँचसय पनि भागमा पर्दैन। कसरी संरक्षण गर्ने कासीराम प्रश्न गर्छन्।
पछिल्लो समय बाजाको महत्व बढ्दै गए पनि स्थानीय सरकार बाजा संरक्षण तथा नयाँ पुस्ता हस्तान्तरणका लागि कुनै नीति लिएको छैन। बाजा जसले बजाउँछ, उसले बाजा किन्नुपर्छ। दिनानुदिन महत्व बढ्दै गएको नौमती बाजाको संरक्षणमा तालिम र परम्परागत रैथाने पञ्जेबाजा पेसा व्यासायिक रूपमा अघि बढाउन स्थानीय सरकारले ध्यान दिन आवश्यक देखिन्छ।
दमाहा, तबला, झ्याली, सनही र नरसंघा गरी पाँच प्रकारका पञ्चेबाजा संरक्षण अभावमा छन्। बाजासँगै विभिन्न सांस्कृतिक परम्परा जोगाउन विभिन्न अभियान सञ्चालन गरेर युवा पुस्तालाई रोजगारी सिर्जना गर्नु आवश्यक छ। -न्युजकारखाना