तेह्रथुम- लिम्बू समुदायमा निशान नचाउँदै हर्षोल्लासका साथ मौलो काट्ने परम्परा अझै कायम रहँदै आएको छ। पूर्वी लिम्बुवानको तेह्रथुम, धनकुटा र पाँचथरमा हरेक वर्ष बडादसैँको नवमीका दिन निशान निकाल्ने परम्परा छ। खासगरी पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायले हरेक वर्ष बडादसैंको नवमाीको दिन निशान निकाली मौलो काट्ने गर्दै आएका छन्। यसलाई लिम्बुवानको निशान भन्ने गरिन्छ।
पूर्वको धनकुटा जिल्ला अन्तर्गत तत्कालीन ताङ्खुवा गाविस हाल छथर जोरपाटी गाउँपालिकामा खजुम पारघरी र चोङ्वाङ लिम्बूहरूसँग हात हतियारसहितको दुईवटा निशान, तेह्रथुम तत्कालीन पञ्चकन्या गाविस हाल छथर गाउँपालिकाको वासिकामा खजुम लिम्बूहरूसँगै दुईवटा निशान, तेह्रथुम जिल्लाको सुदाप ओख्रेमा खेवा लिम्बूहरूसँग दुईवटा पुराना हात हतियार तोपसहितको निशान छ भने पाँचथरका योङहाङ लिम्बूहरूसँग पनि दुईवटा निशान छन्।
यी निशानहरू दसैंको नवमीको दिन बाहिर निकाली पूजाआजा गरी प्रदर्शन गर्ने गरिन्छ। धनकुटाको ताङ्खुवामा रहेको निशानलाई नवमीको दिन कोतघरवाट निकाली करिब डेढ किलोमिटरको दुरीमा रहेको मौलोडाडा सम्म पुर्याएर मौलो काटी पुनः कोतघरमा पुर्याएर निशान लुकाउने गरिन्छ। त्यस्तै उता तेह्रथुमको सुदाप ओख्रेमा रहेको निशान पनि प्रदर्शन गरिन्छ।
तेह्रथुम वासिकामा रहेको निशानलाई भने सामान्य पूजा मात्रै गरिन्छ। पाँचथरको याङरुपमा रहेको निशान भने हरेका वर्ष नवमीको दिन नचाइने गरिन्छ। यसरी लिम्बूहरूसँग पुराना हात हतियारसहितको निशान हुनु भनेको परापूर्वकालदेखि लिम्बूहरू लडाकु भएको प्रमाण रहेको डा. कमल तिगेलाको दाबी छ।
डा. तिगेलाका अनुसार परापूर्वकाल थिवोङ याक्थुङ कालमा पनि लिम्बूहरू लडाकु थिए, राज्य भएका थिए भन्ने गतिलो प्रमाण निशान हो। नेपाल राज्य एकीकरण हुनुपुर्व सेनको शासनकालभन्दा अगाडिदेखि लिम्बूहरूसँग निशान थियो, त्यसैले लडाकु हुन्। कुनै पनि समूहसँग निशान हुनु भनेको सेना हुनुपर्छ अनि मात्रै निशान हुन्छ। बेलायतमा समेत बेलायती सेनामा टनसन छ। त्यसलाई निशान भनिन्छ।
लिम्बू जातिसँग यी यस्ता ऐतिहासिक पुराना हात हतियारसहितको निशान हुनु भनेको यी निशानहरूले लिम्बू र लिम्बूवानको इतिहास बोकेको भूतपूर्व सिडिओ तथा लेखक भगिराज ईङ्नाम बताउँछन्। लिम्बूहरूसँग भएको निशानलाई पनि विशेष पूजा आज दसैंको नवमीमा नै गर्न गोरखाका राजा शाहले लगाएको बताइन्छ।
लिम्बू जातिको इतिहास बोकेको निशानको बारेमा थप खोज अनुसन्धान गरे यसबाट लिम्बू जातिको धेरै कुरा पाइने डा.कमल तिगेलाको दाबी छ। पहिले निशान गोरखा राजासँग १२ रुपैयाँ तिरेर पनि पाइन्थ्यो। लिम्बूवानमा रहेका यी निशानहरू धेरै वर्ष पहिलेको हो भन्ने १८३९ मा राजा राणाबहादुर शाहले खजुम लिम्बूहरूलाई दिएको लालमोहरले पुष्टि गर्दछ।
२३८ वर्ष अघि जारी गरिएको लालमोहर अनुसार लिम्बूहरूसँग धेरै पहिलेदेखि निशान थियो भन्ने पुष्टि गरेको छ। लिम्बूहरू सँग निशान हुनु भनेको पहिले लिम्बूहरूको राज्य र सेना थियो भन्ने प्रस्ट हुन्छ।
-न्युज कारखाना