काठमाडौं– नेपाल पहिलो पटक दक्षिण एसियाकै सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ।माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा बुधबार साँझ सम्पन्न खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी गर्दै पहिलो पटक फाइनलमा स्थान बनाएको हो।
बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ। खेलको नवौं मिनेटमा बंगलादेशले पाएको फ्रिकिकलाई सुमोन रेजाले हेडमार्फत गरेको गोलले बंगलादेशलाई अग्रता दिलाएको थियो। तर खेलको अन्तिमा समयमा नाटकीय रुपले खेल बराबरीतर्फ मोडिएपछि नेपालले फाइनलमा स्थान बनाएको हो। खेलको ८६ औं मिनेटमा अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गरेका थिए।
समूहको खेलमा नेपालले दुई जित, एक बराबरी र एक हारका साथ ७ अंक बनाएको छ। खेलको पहिलो मिनेटबाटै नेपालले खेलमा दबाब बनाए पनि उसले गोल गर्न भने सकेन। खेलअभ्यासको क्रममा पुजन उपरकोटी घाइते भएपछि उनको ठाउँमा अर्का मिडफिल्डर विशाल राई मैदानमा उत्रिएका थिए। तर, उनको ठाउँमा सुमन लामाले दोस्रो हाफमा स्थान बनाएका थिए।
नेपालले दबाब बनाए पनि खेलको नवौं मिनेटमा खेलमा बंगलादेशले अग्रता बनाएको थियो। फ्रिकिकमा आएको बललाई मोहम्मद सुमोन रेजाले गोल गरेका थिए। उनको हेडर नेपाली गोलकिपर किरणकुमार लिम्बूको बायाँतर्फबाट पोस्टको तल्लो भागमा छिर्दै पोस्टको जाली चुमेको थियो।
खेलको २६ औं मिनेटमा नेपाली विंगर आयुष घलानको प्रहार असफल भएपछि बंगलादेशले काउन्टर अट्याकमा प्रयास गरे पनि उसको प्रहार पोस्टतर्फ गएन। २९ औं मिनेमा सुजल श्रेष्ठको क्रस पनि बंगलादेशका खेलाडीले क्लियर गरिदिए। ३२ औं मिनेटमा अञ्जन विष्टको क्रसलाई पनि नेपाली फरवार्डले गोलमा परिवर्तन गर्न सकेनन्। त्यो क्रसको समयमा बल रिसिभमा नवयुग श्रेष्ठ र आयुष घलान त्यहाँ भए पनि उनीहरुले बल नियन्त्रणमा लिनुअघि नै बंगलादेशी डिफेन्डरले क्लियर गरिदिए।
पहिलो हाफको इन्ज्युरी समयमा रोहित चन्दको क्रसलाई आयुष घलानले हेडबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिर गएको थियो। त्यसलगत्तै बंगलादेशका सुमोनको क्रस पनि पोस्ट माथिबाट बाहिरियो। यससँगै पहिलो हाफमा नेपाल १–० गोलले पछि परेको थियो।
दोस्रो हाफमा राम्रो सुरुआत गरे पनि नेपालले सहजै गोल गर्न सकेको थिएन। ५२ औं र ५४ औं मिनेटमा नेपालले अट्याकिङ डर्थमा निकै राम्रो अवसर गुमाएको थियो। आयुषको हेडरलाई बंगलादेशी गोलकिपरले बचाएका थिए। ५५ औं मिनेटमै बंगलादेशका सुमन रेजाले काउन्टर अट्याकमा निकै प्रभावसाली मुभ बनाएका थिए। उनले नेपाली डिफेन्डरलाई पछि छोड्दै डिबक्सभित्रबाट गरेको प्रहार गोलकिपर किरणकुमार लिम्बूले बचाए।
खेलको ६० औं मिनेटमा अञ्जन विष्टले उत्कृष्ट क्रस निकाले पनि पोस्टको बाँया साइडमा बल रिसिभ गर्न खेलाडी नहुँदा नेपालले गोलको अर्को अवसर पनि सदुपयोग गर्न सकेन। ६५ औं मिनेटमा नवयुग श्रेष्ठले पनि हेडरमार्फत गरेको प्रहार बंगलादेशका गोलकिपर रहमान जिकोले बचाए। ७१ औं मिनेटमा रोहित चन्दले गरेको प्रहार पनि बारको नजिकैबाट बाहिरिएको थियो। ७२ औं मिनेटमा रेजाको प्रहार पोस्टको छेउबाट बाहिरियो।
खेलको ८६ औं मिनेटमा मनीष डाँगीले दिएको क्रस लिनका लागि अञ्जन विष्ट पोस्टको दायाँ कर्नरमा भए पनि उनलाई बंगलादेशी खेलाडीले गोल स्कोरिङको अवस्थामा लडाएका थिए।
खेलको ७९ औं मिनेट नेपालका लागि निकै महत्त्वपूर्ण रह्यो। नवयुग श्रेष्ठ र बंगलादेशका गोलकिपर अनिसुर रहमान जिको वान टू वानको अवस्थामा थिए। नवयुगले प्रहार गरेको बल अनिसुरले बक्सबाहिरै हातले रोकेपछि उनी रातो कार्डको सजाय पाउँदै बाहिरिएका थिए।
खेलको बाँकी समय बंगलादेशको टिममा १० खेलाडी रहे। खेलको ८६ औं मिनेटमा मनीष डाँगीले दिएको क्रस लिन अञ्जन विष्ट पोस्टको दायाँ कर्नरमा भए पनि उनलाई बंगलादेशी खेलाडीले गोल स्कोरिङको अवस्थामा लडाएका थिए।
यता, नेपालले भने पेनाल्टीको अवसर पायो। सो अवसरलाई सदुपयोग गर्दै विस्टले गोल गरे। यससँगै नेपालले खेलमा बराबरी गर्यो। र,खेललाई नियन्त्रणमा लियो।
त्यसपछि नेपालले बंगलादेशको पोस्टतर्फ निरन्तर प्रहार गरे पनि गथ गोल गर्न भने चुकिरह्यो। नेपालले पोस्टनजिकको निकै महत्वपूर्ण अवसर गुमायो। इन्ज्युरी समयमा मनिष डाँगीले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो। त्यसको अर्को मिनेटमा नेपाले गोल गरे पनि रेफ्रिले त्यसलाई गोलको मान्यता दिएनन्।
खेल अवधिभर ६७ प्रतिशत समय बलमा नियन्त्रण बनाएर नेपालले बंगलादेशको पोस्टतर्फ १८ प्रहार गरे पनि थप गोल गर्न सकेन। बंगलादेशले नेपालका पोस्टतर्फ १० प्रहार गर्यो।
यस्तो रह्यो साफ च्याम्पियनसिपको नेपालको समूह चरण
नेपालले अक्टोबर १ तारिखमा भएको उद्घाटन खेलमा आयोजक माल्दिभ्ससँग खेलेको थियो। सो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलल हराउँदै सुखद सुरवात गरेको थियो। नेपालका लागि फरवार्ड मनीष डाँगीले गोल गरेका थिए। उनले ८६ औं मिनेटमा गरेको गोल नै नेपालको जितका लागि पर्याप्त बन्यो।
दोस्रो खेलमा नेपालले उस्तै राम्रो प्रदर्शन गरेको थियो। नेपालले श्रीलंकालाई ३–२ गोलले हरायो। अक्टोबर ४ तारिखमा भएका उक्त खेलमा नेपालका सुमन लामा, अञ्जन विष्ट र अयुष घलानले समान १–१ गोल गरेका थिए।
श्रीलंकाका मार्विन हेमिल्टन र डिलोन डिसिल्वाले एकएक गोल फर्काए। प्रतियोगिताको तेस्रो खेलमा भन नेपालले राम्रो खेल्न सकेन। भारतविरुद्ध नेपालले रक्षात्मक खेलेको भन्दै प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको आलोचनासमेत भएको थियो।
खेलको ८५ औं मिनेटमा इन्डियाका फरवार्ड सुनिल क्षेत्रीले गोल गरेपछि नेपालले भारतसँग १–० गोलको हार बेहोरेको थियो। सो खेलमा हार बेहोरेपछि नेपालको फाइनलको यात्रा पनि लम्बिएको थियो।
बुधबारको खेल नेपालका लागि गर वा मरको अवस्थामा थियो। नेपालले जित निकालेको अवस्थामा वा बराबरी गरेको अवस्थामा नेपाल फाइनलमा पुग्ने थियो। तर, हार बेहोरेमा नेपालको यात्रा समूह चरणबाटै समाप्त हुने थियो। र, नेपालले बंगलादेशसँग बराबरी गर्दै फाइनलमा पुगेको हो। अब फाइन खेलमा नेपालले माल्दिभ्स र इन्डियाको आजै राति हुने खेलको विजेतासँग खेल्नेछ। यदि उक्त खेल बराबरी भएमा माल्दिभ्स फाइनलमा पुग्नेछ।
यसरी गरेका थिए अञ्जन विष्टले गोल