काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले दसैंका बेला सडक दुर्घटनामा परी निधन भएका व्यक्तिका परिवारलाई उचित क्षतिपूर्ति दिने घोषणा गरेका छन्। प्रधानमन्त्री देउवाले मुगु, कास्की र अछाममा भएका सडक दुर्घटनाको समाचारले आफू स्तब्ध भएको भन्दै सरकारले पीडितलाई राहत र घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन्।
सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री देउवाले सो समाचारले आफू स्तब्ध भएको भन्दै दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकमा परेका परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले भनेका छन्, ‘दुर्घटनामा मृत्यु भएकाहरुका परिवारलाई उचित राहत र घाइतेहरुको उद्वार एवं निःशुल्क उपचारको व्यवस्था सरकारले गर्नेछ।’
साथै प्रधानमन्त्री देउवाले सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्ड अपनाउन सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन्।