काठमाडौं– एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सामर्थ्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजुल खर्चमा हौसिनेजस्ता अभ्यास कुनै पनि कोणबाट उचित नभएको बताएका छन्। बडादसैं २०७८ का अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै ओलीले भनेका छन्, ‘यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वलाई मितव्ययी र उचित बनाउन हामी सबै सजग र सचेत रहनु आवश्यक छ।’
उनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा साकार पार्ने अभियानमा खडा गरिएका व्यवधान र राजनीतिक तथा समाजिक वृत्तमा परिव्याप्त नकारात्मक प्रवृत्तिलाई एकताबद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन्।
ओलीले कोभिड–१९ को संक्रमण विस्तारबाट बच्न अझै स्वास्थ्य सुरक्षाका मापदण्ड अनुशरण गरी चाडपर्व मनाउन सबैमा आग्रह गरेका छन्।