काठमाडौं- १४ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएलको आइतबार राति सम्पन्न इलिमिनेटर खेलबाट कोलकत्ता नाइट राइडर्स दोस्रो क्वालिफायरमा पुगेको छ।
यूएईको सारजाह रंगालामा सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले हराउँदै कोलकत्ता दोस्रो क्वालिफायरमा पुगेको हो।
टस जितेर ब्याटिङ रोजेको बैंगलोरले पुरा ओभर खेल्दै ७ विकेटको क्षतिमा १३८ रन बनाएको थियो। १३९ रनको लक्ष्यका साथ मैदान पसेको कोलकत्ताले दुई बल बाँकी रहँदै ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
कोलकत्ताका लागि सुभमन गिलले २९, वेंकटेस आयर र सुनिल नायरले समान २६-२६ रन बनाए भने नितिस रानाले २३ रन जोडे। त्यसक्रममा बैंगलोरका मोहम्मद सिरज, हर्षल पटेल र युजवेन्द्र चहलले समान २-२ विकेट लिए।
त्यसअघि बैंगलोरका विराट कोहलीले ३९ रन बनाए भने देवदत्त पडिक्कलले २१ रन बनाए। बलिङतर्फ कोलकत्ताका सुनिल नायरले ४ विकेट लिए भने लकी फग्र्युसनले दुई विकेट गिराए।
अब कोलकत्ताले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटलको सामना गर्नेछ। सो खेलमा जित निकाल्ने टिमले फाइनलमा चेन्नई सुपर किंग्सको सामना गर्नेछ।