बिहीबार, भदौ ४, २०८३

नाच्न त मन थियो, मादलै घन्किएन

‘सांस्कृतिक क्रान्ति र सामन्तीले मनाउने चाड भन्दै दसैं लगायतका चाडबाडमा माओवादीले आक्रमण गरे’, रेग्मी भन्छन्, ‘त्रासका कारण सामूहिक भेला हुने क्रम रोकियो। रातरातभर नाच्ने गाउने चलन ठप्प भयो।’
 |  शुक्रबार, असोज २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २९, २०७८

माओवादी द्वन्द्वले बिथोलेको सोरठी, पैंसेरी, स्यारिंगे, लरेजस्ता परम्परागत नाच ब्युँतिएको केही वर्षमै फेरि कोरोना कहरले ठप्प बनाउँदा पहाडी जिल्ला सल्यानका बासिन्दालाई चाडपर्व खल्लो बनेको छ। 

मासु, नयाँ लुगा, पिङले मात्रै दसैंको उत्साह ल्याउँदैनथ्यो। जोरमादल, मुरली, ट्याम्की र खैंजडीको तालमा मयूरको प्वाँखबाट बनेको ‘झिमर’ कम्मरमा भिरेर नाचिने स्यारिंगे नाच दसैंको पर्याय नै थियो विगतमा। 

सप्तमीदेखि सुरु हुने नाच कोजाग्रतसम्म चल्थ्यो। सोरठी, पैंसेरी र लरे नाच दसैंतिहारमा छमछमी नाचिन्थ्यो मध्यपश्चिमको पहाडी जिल्ला सल्यानमा।

शिरमै शिरफूल पहिरी बाहिर निस्कियौं नचारु

सबै लोकले हेरन

छम र छम नाच मेरी नचारु फेरि जोवान आउँदैन  

दसैंको टीकाको दिन यस्ता गीतमा भाका हाल्दै बागचौर–१० का धनीराम अधिकारी ९७२० लगायतको समूह कम्मर मर्काउँदै आँगनआँगन पुग्दा परिवारका सबै सदस्य झुम्मिन्थे। 

मादल भिरेर लय मिलाउँदै टोली बुरुक्कबुरुक्क उफ्रिन्थ्यो। वृद्ध, प्रौढ, युवा सबैले तालमा ताल मिलाउँथे। वातावरण निकै रोमाञ्चक हुन्थ्यो। सबैलाई नाचूँ–नाचूँ लाग्थ्यो।

स्यारिंगे नाच्न सप्तमीदेखि सुरु भए पनि सोरठी, पैंसेरी र लरे भने टीकाको दिन मात्रै नाचिन्थ्यो। दसैंमा फुकाएको (उद्घाटन गरेको) नाच तिहारमा नाचेर अर्को वर्षसम्मका लागि विधिवत् बिसाइन्थ्यो। 

समय फेरियो र दसैं पनि। कोरोना कहरले सामूहिक जमघट बन्द गराइदियो। दसैंका बेला स्थानीय स्तरमा उत्साहसाथ हुने मेला र जमघटको परम्परा बन्द भयो। चाडबाड घरभित्रै सीमित हुँदा खल्लो भएको छ।  

लरे नाचका अगुवा अधिकारी नाच्न नपाएर दसैं उल्लासमय नभएको बताउँछन्। ‘दसैं आएजस्तै भएन,’ उनी भन्छन्, ‘तिहारमा पनि नाच्न–गाउन नपाइने भयो।’ 

माओवादीले ननाच्न उर्दी जारी गरेपछि स्थानीयले सानो टोली बनाएर टोलमै सीमित बनाए। त्यो पनि दिउँसो मात्रै। डरले मानिस भेला हुन छोडे। एकाध वर्ष टोलमा नाचेपछि बन्द भयो। 
सोरठी सबैभन्दा ठूलो नाच हो। रामायण र कृष्ण चरित्रका गीतलाई लोकभाकामा गाउने भएकाले यो नाच विवाह, पूजापाठलगायतमा पनि नाच्ने गरिन्छ। जानकारहरूका अनुसार लोकोक्तिलाई भाका मिलाएर गाउनु यो नाचको विशेषता हो।

‘रामायण र कृष्णचरित्र गाथालाई मिलाएर सात रात, सात दिन गाउन सकिन्छ,’ बागचौर नगरपालिका–१० का मानबहादुर रेग्मी ९७०० भन्छन्, ‘यस वर्ष नाच्न पाइएन।’ यसअघि पनि भएर पनि द्वन्द्वकालमा नाच्न नपाएको उनको सम्झना छ। 

द्वन्द्वले बिथोलेको परम्परा 

अधिकारी उबेला स्यारिंगे, सोरठीलगायत नाच लिएर सात गाउँ पुगेको सम्झन्छन्। ‘कुन गाउँको नाच राम्रो भन्ने प्रतिस्पर्धाजस्तै हुन्थ्यो,’ उनी भन्छन्, ‘जोरमादलको तालमा ढल्की–ढल्की नाच्दा गाउँ घन्किन्थ्यो। दसैं साँच्चै दसैंजस्तै लाग्थ्यो। तिहारमा त उल्का रमाइलो हुन्थ्यो।’

धनीरामहरूको खुसी, संस्कार र परम्परा तत्कालीन द्वन्द्वरत समूह माओवादीले खोस्यो। सांस्कृतिक क्रान्तिका नाममा उनीहरूले परम्परागत नाचगानमाथि प्रतिबन्ध लगाए। उनीहरूले यो नाच मात्रै नभएर यससँग जोडिएको संस्कार र परम्परा निर्बाध अगाडि बढाउन पाएनन्।

माओवादीले ननाच्न उर्दी जारी गरेपछि स्थानीयले सानो टोली बनाएर टोलमै सीमित बनाए। त्यो पनि दिउँसो मात्रै। डरले मानिस भेला हुन छोडे। एकाध वर्ष टोलमा नाचेपछि बन्द भयो। 

रेग्मीलाई सम्झना भएसम्म २०५६ पछि उनीहरूले नाच्न पाएनन्। ‘माओवादी आउनुअघि हामी दिनरात नभनी नाच्थ्यौं, गाउँथ्यौं। लरेर सोरठीको आफ्नै विधि छ,’ उनी भन्छन्, ‘यी नाच फुकाएपछि बिसाउनैपर्छ।’ नाच्न लामो समय र समूह पनि ठूलो चाहिन्छ। 

साविक पीपलनेटा गाविसका अध्यक्ष नन्दराम रेग्मी २०५४ को स्थानीय निर्वाचनपछि सांस्कृतिक र धार्मिक गतिविधिमाथि तत्कालीन विद्रोही नेकपा माओवादीको प्रहार हुँदा चाडबाडको रौनक फिक्का बनेको बताउँछन्।

‘सांस्कृतिक क्रान्ति र सामन्तीले मनाउने चाड भन्दै दसैं लगायतका चाडबाडमा माओवादीले आक्रमण गरे’, रेग्मी भन्छन्, ‘त्रासका कारण सामूहिक भेला हुने क्रम रोकियो। रातरातभर नाच्ने गाउने चलन ठप्प भयो।’

सरकारले पनि संकटकाल लगाएर ठूलो समूहमा हुने भेला र जमघटमा रोक लगायो। परिणाम दसैंको अवसरमा आयोजना हुने परम्परागत नाचगान, मेला, खेलकुद तथा विभिन्न प्रतियोगितात्मक कार्यक्रम बन्द हुँदै गए।

दसैंका बेला रातबिरात नभनी आयोजना हुने नाचगान र मेला दिउँसोको समयमा सीमित भए। चाडको रौनक सेलाउँदै गयो। सामाजिक जीवनका साथै परम्परासँग जोडिएका यी सबै सांस्कृतिक गतिविधि हिंसात्मक विद्रोहको प्रभावले प्रतिबन्धितजस्तै भए। त्यससँगै दसैंको परम्परागत रौनक पारिवारिक टीका र खानपानमै सीमित भयो।

माओवादी विद्रोहको उद्गम थलो रोल्पाका साथै रुकुम, सल्यान, प्यूठान, दाङ, जाजरकोट, दैलेख लगायत जिल्लामा दसैंको परम्परागत स्वरूप बिथोलेको थियो। यसलाई पुरानै लयमा फर्काउने प्रयासमा थिए बागचौरका युवा र प्रौढको समूह तर यो वर्ष फेरि कोरानाले रोक्यो। 

२०६३ मै द्वन्द्वको अवसान भए पनि सल्यानीलाई यी परम्परागत नाच ब्युँताउन वर्षौं लाग्यो। संस्कृति र परम्पराका जानकार पुस्ता कति बितेर गए, कति तिनलाई निरन्तरता दिन नसक्ने उमेरमा पुगे। कोही बसाइँ सरेर दाङ झरिसकेका थिए। 

उति बेला विद्रोहीको त्रास र धम्कीका कारण खुम्चिएको दसैं अझै पुरानो स्वरूपमा फर्किन नसकेको पूर्व गाविस अध्यक्ष रेग्मी बताउँछन्। ‘पहिलेजस्तो दसैंको उत्साह फर्किएको थिएन,’ उनी भन्छन्, ‘त्यसमा झन् यो वर्ष पूरै बिथोलियो। आशा छ– अर्को वर्ष धुमधामले मनाउन पाइन्छ।’

युवा सक्रियताले ब्युँतायो

२०६३ मै द्वन्द्वको अवसान भए पनि सल्यानीलाई यी परम्परागत नाच ब्युँताउन वर्षौं लाग्यो। संस्कृति र परम्पराका जानकार पुस्ता कति बितेर गए, कति तिनलाई निरन्तरता दिन नसक्ने उमेरमा पुगे। कोही बसाइँ सरेर दाङ झरिसकेका थिए। धेरैले त यसको ताल बिर्सिसकेका थिए। लामो समय बन्द भएकाले पछिल्लो पुस्ताले सिकेकै थिएन। 

दसैंको रमझम, तिहारमा नाचिने परम्परागत नाचका बारेमा सुनेपछि युवापुस्ता जुर्मुराए। बागचौर नगरपालिका–१० को कुमाईगाउँका १५ जना युवा मिलेर यसलाई ब्युँताउने योजना बनाए। 

युवा समूहको नेतृत्व गरेका नेत्रमणि अधिकारी पुर्खाको सीप, परम्परा र संस्कार नयाँ पुस्ताले सिक्दै जाऊन् भन्ने उद्देश्यले यी नाच ब्युँताएको बताउँछन्। ‘हामी केही साथीभाइ छलफल गरेर बा पुस्तालाई मनायौं,’ उनी भन्छन्, ‘त्यसैले गर्दा यसअघि प्रौढ उमेरका व्यक्ति मात्र नाचिने नाचमा अचेल युवायुवती सबै नाच्न थालेका छन्।’ अब यसले निरन्तरता पाउने उनको विश्वास छ।’ 

युवा सक्रियतापछि जोरजाम गरेरै भए पनि नाच सुरु भयो। टोली अगुवा बने धनीराम अधिकारी। नाचका लागि आवश्यक पर्ने सामग्री थिएनन्। घरघरबाट दामासाहीले पैसा उठाएर जोरमादल, ट्याम्की, खैंजडी, मुरलीको जोहो भयो। नयाँ पुस्तालाई समेत समेटेर २०७० सालको दसैंदेखि स्यारिंगे र लरे, सोरठी, पैंसेरी नाच अगाडि बढ्यो। 

नाचको पैसाले सामाजिक कार्य

दसैंमा आफ्नो टोलमा मात्रै नाच्ने कुमाईगाउँको नाचटोली तिहारमा आसपासका गाउँसम्म पुग्छ। परम्परागत नाच र गाउँभरको एउटा मात्रै ठूलो समूह हुने भएकोले दक्षिणा पनि राम्रै पाइन्छ। त्यो दक्षिणा उनीहरू वनभोजजस्ता रमाइलोमा खर्च गर्दैनन्। 

युवा टोली नेता नेत्रमणि २०७० को दक्षिणाले नाचका लागि चाहिने सामग्री खरिद गरेको बताउँछन्। ‘पहिलो वर्ष नाचको सामग्री जोड्यौं,’ उनी भन्छन्, ‘त्यसपछिका हरेक वर्ष सामाजिक काममा खर्च गर्दै आइरहेका छौं।’ 

नाचकै पैसाले अर्को वर्ष उनीहरूले विवाह, पूजापाठ वा अन्य जमघटमा आवश्यक पर्ने सामान (क्याटरिङका सामान) खरिद गरे। अहिले गाउँभरका लागि यी सामग्री निःशुल्क उपलब्ध हुन्छन्। अर्को गाउँमा लैजान भने शुल्क तिर्नुपर्छ। 

नाचमा संकलित दक्षिणाकै पैसाले गाउँमा दुईवटा भलिबल कोर्ट बनेका छन्। स्थानीय स्तरको बाटो पनि दक्षिणाकै पैसाले बनाउने गरेका छन्। दुई लाख ५० हजारको कोष खडा गरिएको छ। कोषको बैठक हरेक तीन महिनामा एक पटक बस्छ। आवश्यक पर्नेले कुमाईगाउँको जोकोहीले पनि बढीमा ५० हजारसम्म कोषको रकम ऋणबापत खर्च गर्न पाउँछ। ब्याजदर छ १ प्रतिशत।

अगुवा धनीराम भन्छन्– ‘हामी पहिले नाच्थ्यौं मात्र, युवाले राम्रो काममा लगाएका छन्, खुसी लाग्छ।’ 

     -मस्त केसी/ नेपालसमय अर्काइभबाट

प्रकाशित: Oct 15, 2021| 09:10 शुक्रबार, असोज २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।