पोखरा- गण्डकी प्रदेशमा नेपाली कांग्रेसका नेता डोबाटे विश्वकर्मा मन्त्री बन्दै छन्। गत साउनमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गर्दा अन्तिममा आएर उनको नाम काटिएको थियो।
उनको स्थानमा पोखराका व्यापारी बिन्दुकुमार थापालाई ल्याइएको थियो। जसका कारण मुख्यमन्त्री र उनको दल नेपाली कांग्रेसको चर्को आलोचना भएको थियो।
आज साँझ ५ बजे विनाविभागीय मन्त्रीको रूपमा शपथ लिने उनले जनाएका छन्। त्यसकै लागि उनी तनहूँबाट पोखरा आएका छन्। प्रधानमन्त्री तथा पार्टी सभापतिसँग भेट भएपछि उनी मन्त्री बन्ने पक्का भएको हो।
‘प्रधानमन्त्रीसँग भेट भयो, मैले आशिर्वाद मागें उहाँले मुख्यमन्त्रीसँग कुरा भएको छ, मन्त्री हनुहुन्छ भन्नुभयो,’ उनले भने।
संविधानमा प्रदेशसभामा कायम रहेका सदस्यको सँख्याको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिने व्यवस्था छ। ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा अहिले ११ मन्त्री छन्। संविधान अनुसार यो मन्त्रीपरिषद १२ सदस्यीय बनाउन मिल्छ।