काठमाडौं- संघीय संसद्अन्तर्गत सोमबार प्रतिनिधि सभाको बैठक बस्दैछ। दिउँसो २ बजे बस्ने बैठकमा सभामुख अग्नी सापकोटाले मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।
एमालेको अवरोधका कारण संसद्लाई बिजनेस दिन नसकेको भन्दै सरकारले संसद्को जारी नवौं अधिवेशन स्थगित गर्ने तयारी गरेको छ। त्यसका लागि उसले केही विधेयकसमेत फिर्ता लिएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठकमा निरन्तर अवरोध गर्दै आएको छ।
माधव नेपालसहित १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेका सांसदहरूले संसद्मै नाराबाजी गर्दै आएका छन्। सभामुखले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै उनीहरूले सभामुखको समेत राजीनामा मागेका छन्। तर, एमालेको अवरोधकैबीच सरकारले संसद्बाट बजेट पारित गरेको थियो।