जनकपुरधाम- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश२ को नामाकरणमा विवाद रहेपनि राजधानी भने जनकपुरधाम नै रहने दाबी गरेका छन्।
शनिबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति निधिले प्रदेशको राजधानीको सवालमा कुनै दुई मत नरहेको बताउँदै जनकपुरधाम राजधानीका लागि सबै दृष्टिकोणले उपयुक्त रहेको स्पष्ट पारे। उनले भने, ‘प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम नै रहन्छ, यसमा कुनै शंका नगर्नुस्। जचुकालिको भवन पनि प्रदेश सरकारका लागि उपयुक्त रहेकाले यो भन्दा अर्को कुनै उत्तम विकल्प नै छैन्।’
पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका नेता निधिले प्रदेशको राजधानी जनकपुरधामबाट सार्ने उद्देश्यले केही पार्टीका नेताले जचुकालि पुनः सञ्चालन गर्ने कुरा गरेर जचुकालिको सबै सम्पत्ति बेच्ने षड्यन्त्र गर्न लागिपरेको आरोप समेत लगाए।
उपसभापति निधिले जनसंख्याको आधारमा मैथिली भाषा नेपालको दोश्रो र प्रदेश २ को पहिलो भाषा रहेकाले मैथिली सरकारी कामकाजको भाषा बन्नेमा दुई मत नरहेको बताए। उनले मैथिली भाषालाई प्राथमिकतामा राख्नका लागि आवश्यक दबाब दिइरहन प्रदेशबासीलाई आग्रह समेत गरे।
एक अर्को प्रसंगमा बोल्दै नेता निधिले आफू कांग्रेसको आगामी १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार रहेकाले पार्टीका नेता कार्यकर्तालाई आफूलाई सहयोग गर्न आग्रह गरेका छन्। सभापतिमा उम्मेद्वारी घोषणा गरिसकेकाले सम्पर्क कार्यालय खोलेर काम अघि बढाएको उनले बताए।
लामो समय सभापति शेरबहादुर देउवा निकट रहेर काम गरेका निधि आसन्न महाधिवेशनमा देउवालाई नै चुनौती दिने गरि महाधिवेशन केन्द्रित गतिविधि अगाडि बढाएका छन्।