बुटवल- नेकपा एमालेका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान देउवा नेतृत्वको सरकार विकास विरोधी भएको आरोप लगाएका छन्।
ओली नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएका महत्वपूर्ण विकास आयोजना सरकारले अवरुद्ध पारेको भन्दै देउवा सरकारलाई विकास विरोधीको संज्ञा दिएका हुन्।
रूपन्देही उद्योग संघको ४३ औं साधारणसभा तथा २२ औं अधिवेशनको शनिबार बुटवलमा उद्घाटन गर्दै नेता पौडेलले सरकारले विकासमा ब्याक गियर लगाएको आरोप लगाए।
पौडेलले सिद्धबाबा सुरूङ मार्ग, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम, बुटवल पोखरा सिद्धार्थ राजमार्गको कामको लागि टेन्डर र आवश्यक प्रक्रिया छिट्टो अगाडि बढाउन आग्रह गरे।
आफू अर्थमन्त्री भएको बेलामा उद्योग वाणिज्य र निजी क्षेत्रलाई प्रोत्साहन हुने गरी बजेट आएको बताए। ‘सरकारका हुँदा होस वा नहुँदा आफै सधै निजी क्षेत्रलाई साथ र सहयोग गर्न तयार छु’ उनले भने –‘ अहिलेको सरकारले निजी क्षेत्रको लागि केही गर्न सकेन।’
पौडेलले मोतिपूर औद्योगिक मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण भइरहँदा सरकार मुखदर्शक बनेर बसेको आरोप लगाए। औद्योगिक करिडोर निर्माणको काम अघि बढ्नुपर्नेमा जोड दिँदै उनले अतिक्रण रोक्न सरकारसँग आग्रह गरे।
रुपन्देहीबाट प्रतिनिधिसभा सदस्य रहेका पौडेलले बुटवलको ज्योतिनगर पहिरोलाई दीर्घकालीन रुपमा समस्या समाधानमा सरकारको ध्यानार्कषण गराए।