काठमाडौं– नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको विशेष दूत बनेर गएको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोलीले भारतसँग सीमा मुद्दा र महाकाली नदीमा भारतीय एसएसबीले तुइन काटेको विषयमा कुराकानी गरेको छ।
भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा बिहीबार नयाँदिल्ली गएको महत नेतृत्वको टोलीले शुक्रबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको थियो। उक्त भेटपछि भारतीय सञ्चारमाध्यम आयोन न्युजका लागि सिद्धान्त सिवालसँग कुराकानी गर्दै डा. महतले सीमा मुद्दा र तुइनको विषयमा छलफल भएको बताएका छन्।
डा. महतले भनेका छन्, 'हामीले भारत सरकारको तर्फबाट विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका छौं। हामीबीच निकै राम्रो छलफल भएको छ। मैले नेपालका लागि निकै महत्वपूर्ण मुद्दा सीमाको विषय, कोभिशिल्ड खोपको विषय, मल ढुवानीको विषय र महाकालीमा तुइन तरिरहेको एक नेपाली महाकाली नदीमा खसेको विषयलाई उठाएको छु।'
उनले भारत सरकारलाई यस विषयलाई महत्वका साथ लिन पनि भारतीय पक्षलाई सुझाएको बताइएको छ। उनले थपे, 'भारतका लागि यी साना मुद्दा हुन सक्ने भए पनि नेपालका लागि यी निकै ठूला विषयहरु हुन्। यसले नेपालीको भावनामा निकै ठूलो असर गर्छ। यदि भारत सकारात्मक तवरबाट आयो भने यसले नेपालमा पनि सकारात्मक सन्देश प्रवाह गर्छ।'
भारतीय विदेशमन्त्री जयशंकरले पनि यस विषयलाई सकारात्मक रुपमा लिएको र नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको प्रतिक्रिया दिएको महतले बताएका छन्।
नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेट्दै बनाएको नक्साको विषयलाई पनि संवादको माध्यमबाट समाधान गरिनुपर्ने स्पष्ट पारेको छ। ऐतिहासिक प्रमाणका आधारमा यसमा नेपालको वैधानिक दाबी रहन्छ भन्नेमा नेपाल विश्वस्त रहेको उनले बताएका छन्।
पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका महतले भारत सरकारलाई कोभिशिल्ड खोप तत्काल उपलब्ध गराउनसमेत माग गरेका छन्। हरेक मुलुकले आफ्नो आन्तरिक हितलाई प्राथमिकतामा राख्ने भएकोले पनि नेपालले आफ्नो हित अनुकूल अघि बढ्ने र अन्य कुनै मुलुकलाई कसैविरुद्ध प्रयोग गर्ने भन्ने विषय नउठ्ने उनले बताएका छन्।
नेपालको तर्फबाट कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतको नेतृत्वमा पूर्व राज्यमन्त्रीहरु उदयशमशेर राणा र अजय चतुर्वेदी सहभागी छन्। उक्त टोलीले भाजपाका अध्यक्ष जेपी नड्डालाई बिहीबार नै भेट गरेको छ। शुक्रबार भाजपाका महासचिवलगायतको टोलीसँग भेट गरेका थिए।
शनिबार उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग उक्त टोलीले भेट गरेको छ।