काठमाडौं– सरकारले ‘पढ्दै कमाउँदै’ भन्ने कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि आफूले सो कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन्।
शनिबार काठमाडौंमा आयोजित ‘कोरोना महामारीमा शैक्षिक रुपान्तरण विषयक’ छलफल कार्यक्रममा बोल्दै उनले त्यसले मुलुकको शैक्षिक क्षेत्र र आर्थिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे।
अर्थमन्त्री शर्माले सरकारले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि जोड दिईरहेको पनि दोहोर्याए। उनले हाम्रो विकासको मोडल सामुदायमा आधारित हुनुपर्ने आवश्यकता औंल्याए।
अर्थमन्त्री शर्माले भने, ‘अहिले म अर्थमन्त्री भएको बेला बढ्दै कमाउँदै भन्ने कार्यक्रम संचालनमा ल्याउने गरी तयार भएको छ। त्यसलाई लेख्ने बेला बिग्रिएन भने राम्रो परिणाम देला भन्ने मलाई विश्वास छ। त्यस कारणले अव हामीलाई चाहिएको विकास भनेको उत्पादनमा आधारित हुनुपर्यो, हाम्रो शिक्षा। नेपालमा समुदायमा आधारित शिक्षा उपयुक्त छ। शिक्षा क्षेत्र पनि समुदायले चलाएको हो। समुदायलाई पनि शिक्षित बनाउनुपर्ने, जिम्मेवार बनाउनुपर्ने, राजनीतिक नेतृत्वलाई उत्तरदायी बनाउनुपर्ने र शिक्षकहरुलाई प्रतिवद्ध बनाउन सकेमात्रै नेपालको शिक्षा जीवन उपयोगी हुनेछ।’
अर्थमन्त्री शर्माले शिक्षा क्षेत्रमा लगानी बढाउन आफूले राजस्व संकलन वृद्धि गर्न जोड दिएको बताए।