म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतका आइते दर्जी दृष्टिविहीन छन्। शारीरिक रूपमा कमजोर जन्मदेखि नै दृष्टिविहीन दर्जीको जिम्मेवारी भने थेगिनसक्नुको छ। हुर्केका दुई छोरा बेरोजगार छन् भने कमाइखाने जग्गा जमिन नहुँदा आफूले गिट्टी गुट्ने र श्रीमतीले दैनिक ज्याला मजदुरी गरेर साँझ बिहानको गर्जो टार्दै आएका छन्।
उनको दयनीय अवस्था देखेर देशविदेशमा रहेका केही व्यक्तिहरूको सहयोगबाट निर्माण गरिएको सानो घरमा बस्दै आएका दर्जीलाई अघिपछि त खासै नियास्रो लाग्दैन। तर जब चाडपर्व आउँछन् तब आफ्नो अवस्था र गरिबीलाई धिक्कार्न मन लाग्छ। अहिले हुनेखाने र शारीरिक रुपमा सबल व्यक्तिलाई दसैंको रौनकले छोएको छ। देश विदेशमा रहेका परिवारका सदस्य जमघट हुने, मिठामिठा परिकार खाएर रमाउने, आपसमा खुशी साट्ने गरिरहँदा आइते दर्जी जस्तै अत्यन्त विपन्न परिवारलाई भने ‘साँझ खाए बिहान के खाउँ’ भन्ने चिन्ताले पिरोलिरहेको छ।
बेनी नगरपालिका–५ पुलाचौरको पुरण्यका गणेश दर्जीको अवस्था पनि आइतेको भन्दा कम दयनीय छैन। शारीरिक रूपमा सबल भए पनि गणेश दर्जीलाई भाग्यले भने कहिल्यै साथ दिएन। आफ्नो बुबाको जग्गा जमिन अर्कैले रजिष्ट्रेशन पास गराएर हडपेपछि सुकुम्वासी बनेका ४२ वर्षीय गणेशले बाल्यकालदेखि अहिलेसम्म कहिल्यै पनि सुखको सास फेर्न सकेनन्।
दुई छोरी र आमा गरी पाँच जना परिवारको जिम्मेवारी एउटै व्यक्तिको काँधमा आउँदा जग्गा जमिन र नियमित आम्दानीको कुनै स्रोत नभएका गणेश सधैँ के खाने र कसरी आङ छोप्ने भन्ने पिरलोले नै रन्थनिने गर्छन्। यी दुई जना दर्जी बन्धुहरूका जस्तै अवस्था भएका धेरै व्यक्ति हुन्। जसलाई न चाडबाडको रमाइलोले छुन्छ न त दसैँ तिहारजस्ता पर्व आउनु र नआउनुमा कुनै फरक नै पर्छ।
हामीलाई त केही छैन, अलिअलि भए पनि खेतवारी छ, झुपडी नै भए पनि आफ्नै जग्गामा बसेका छौँ, हातगोडा सबल छन्, परिश्रम गरेर खान्छौँ, चाडपर्व मनाउँछाैं',
बडादसैंमा हुनेका लागि किनमेल सुरु भइसकेको छ। फापरखेतका आइते र पुरण्यका गणेशजस्तै म्याग्दीका धेरै विपन्न परिवारका सदस्यलाई भने दसैंको कुनै माहोल लागेको छैन। छरछिमेकी दसैंको जोहो गर्नतिर लागेका छन्। घरमा परिवार जम्मा भएका छन्। गरिबको घरमा दसैंको लागि केही सोचिएकै छैन। गरिब र विपन्न वर्गको उत्थानका लागि सरकारले दिने सहुलियत र सुविधा पनि वास्तविक गरिब र विपन्न वर्गको पहुँचसम्म पुग्न सकेको देखिँदैन। राजनीतिक रुपमा पहुँच भएका, टाठाबाठाले नै गरिबको नाममा आएको सहुलियत र सुविधा दुरुपयोग गर्ने गरेको बेनी नगरपालिका–५ पुरण्यका यामबहादुर दर्जीले बताए।
'हामीलाई त केही छैन, अलिअलि भए पनि खेतवारी छ, झुपडी नै भए पनि आफ्नै जग्गामा बसेका छौँ, हातगोडा सबल छन्, परिश्रम गरेर खान्छौँ, चाडपर्व मनाउँछाैं', यामबहादुरले भने, “गणेशजस्ता निरिह, केही नभएका र बोल्न सक्ने ल्याकत पनि नभएका अति पीडित र विपन्नको नाउँमा आउने सुविधा र सहुलियत त सम्बन्धित व्यक्तिले पाए उनीहरूको अवस्था केही सुधार हुन्थ्यो होला नि।”
त्यसैगरी ज्यामरुककोटकी ६९ वर्षीया गङ्गादेवी सार्कीका श्रीमान् १० वर्षदेखि बेपत्ता छन्। उनी अहिले सेउली बजारको सुकुम्बासी जग्गामा बसोबास गर्दै आएकी छन्। उनको नाममा जग्गा जमिन केही छैन। ज्यामरुककोट फापर खेतकै पतिराम सार्की बेसाहारा छन्। उनका न सन्तान छन् न सम्पत्ति नै। त्यस्तै ४० वर्षीया तुलसी सार्की एकल महिला हुन्। उनको पनि सम्पत्तिको नाउँमा तिल राख्ने ठाउँ पनि नभएको उनी बताउछन्।
त्यस्तै घरबार बिग्रेर माइतै बसी, अरुको घरमा निमेक गरेर दुई बालबच्चा हुर्काइरहेकी फापरखेतकै ४५ वर्षीया बैरी सर्किनीको अवस्था पनि अत्यन्तै कहाली लाग्दो छ। यी सबै व्यक्तिलाई दसैंको कुनै पनि रौनक र रमाइलो छैन। रात दिन गरिबीमा पिल्सनु र आधा पेट खाएर साँझ बिहान घचेट्नुबाहेक अर्को उपलब्धी अहिलेसम्म जीवनमा प्राप्त नभएको उनीहरूको भनाइ छ।
“सबैको घरमा दसैं आएको छ तर हाम्रो घरमा निराशा लागेको छ”, फोनमा कुरा गर्दै गणेशले भने, “छोरीहरूले नयाँ कपडा र मीठो खानेकुरा चाहियो भन्छन्, आफूलाई साँझ बिहानको गाँस जुटाउनै धौँधौँ परेको छ, कहाँबाट ल्याउनु नयाँ कपडा र मीठो खानेकुरा।” दसैँ हुनेखाने र भए खाने वर्गको बीचमा ठूलो खाडल बनेको यहाँका वुद्धिजीवी बताउँछन्। हुनेखानेले जति महँगो भए पनि रामै्रसँग दसैँं मनाउँदा नहुनेको मनमा खिन्नता उत्पन्न हुन्छ। - रासस