बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिहानी समाचार : ८९ दिनपछि मन्त्रिपरिषद्‍ले पूर्णता पाउँदै, संघीय निजामती र रेल्वे विधेयक फिर्ता लिँदै सरकार

बिहानी समाचार : ८९ दिनपछि मन्त्रिपरिषद्‍ले पूर्णता पाउँदै, संघीय निजामती र रेल्वे विधेयक फिर्ता लिँदै सरकार

झण्डै तीन महिनापछि शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार पूर्णता पाउने भएको छ। आज बिहान ११ बजे मन्त्रिपरिषद् विस्तार हुने र ४ बजे शपथ गराउने गरी तयारी भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

काठमाडौं- झण्डै तीन महिनापछि शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार पूर्णता पाउने भएको छ। आज बिहान ११ बजे मन्त्रिपरिषद् विस्तार हुने र ४ बजे शपथ गराउने गरी तयारी भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। बालुवाटारमा बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएर शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएको हो। सहमति अनुसार कांग्रेसलाई प्रधानमन्त्रीसहित नौ, माओवादी केन्द्रलाई पाँच, जसपा र नेकपा (एकीकृत समाजवादी)ले चार/चार मन्त्रालय पाउने भएका छन्। मन्त्रालय भागबण्डामा असन्तुष्टि राखेको एकीकृत समाजवादीले दुई राज्यमन्त्रीसहित चार मन्त्रालय लिने गरी सहमति जुटेको छ। एकीकृत समाजवादीले स्वास्थ्यसहित चार मन्त्रालय पाएको छ।

जसपाले टुंग्यायो चार मन्त्रीको नाम

जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधानमन्त्री नराख्ने भएपछि अध्यक्ष उपेन्द्र यादव भने सरकारमा नजाने भएका छन्। यादव नजाने भएसँगै जसपाका नेताहरूबीच मन्त्रिमण्डलमा पठाउने मन्त्रीहरूको नाममा अनौपचारिक सहमति भएको जसपाका एक नेताले बताए। जसपाले पाउने चार मन्त्रालयमा राजेन्द्र श्रेष्ठ, रामसहायप्रसाद यादव, रेणु यादव र प्रमोद साहको टुंगो लागेको ति नेताले जानकारी दिए। मन्त्रीहरूको नाम टुंगो लगाएर जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आजै गृहजिल्ला गोरखा गएका छन्।

प्रदेश १ को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

प्रदेश १ सरकारको अधिवेशन आजबाट सुरु हुँदै छ। यही अधिवेशनमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनेछन्। नेकपा एमाले विभाजित भएपछि गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य अल्पमतमा छन्। नेकपा एमालेका ५१ सांसदहरुमध्ये १० जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि आचार्यको पक्षमा ४१ सांसद छन्। कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपासहितको गठबन्धनमा ५० जना सांसद छन्। ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ।

संघीय निजामती र रेल्वे विधेयक आज संसद्‍बाट फिर्ता लिँदै सरकार

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा विधेयक–२०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठकमा विरोध गर्दै आएको छ। त्यसलाई आज पनि निरन्तरता दिने तयारी एमालेले गरेको छ। अघिल्लो पटक बसेको बैठक एमालेकै विरोधका कारण सात मिनेटमात्रै बसेर स्थगित भएको थियो। पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ जनालाई सांसद पदबाट नहटाएर सभामुख अग्नि सापकोटाले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको आरोप लगाउँदै एमालेले संसदमा विरोध जनाउँदै आएको छ। 

काठमाडौंमा आजदेखि १८ वर्षमाथिकालाई भेरोसेलको पहिलो मात्रा दिइने

काठमाडौँ महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ। यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र र केही थप गरिएका केन्द्रबाट यही असोज २४ गतेसम्म भेरोसेलको पहिलो मात्रा खोप कार्यक्रम सञ्चालन गर्ने जनाइएको हो। महानगरपालिकाका ३२ खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालबाट नागरिकले खोप लिन सक्ने बताइएको छन्। खोप लगाउनका लागि परिचय खुल्ने फोटोसहितको परिचयपत्र र विद्युतीय दर्ता नम्बरसहित नजिकको खोप केन्द्रमा जान महानगरपालिकाको आग्रह छ। खोप कार्यक्रम बिहान १० देखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ।

अमेरिकाले ताइवनी सैनिकलाई गोप्य तालिम दिइरहेको खुलासा 

चीनले ताइवानी सीमा क्षेत्रमा सैन्य गतिविधि बढाएको चर्चा बढिरहेको बेला अमेरिकाले ताइवनी सैनिकलाई गोप्य रुपमा तालिम दिइरहेको खुलासा भएको छ। अमेरिकी दैनिक वालस्ट्रीट जर्नलले विगत एक वर्षदेखि अमेरिकाले ताइवानी जल तथा थल सेनालाई गोप्य तालिम दिईरहेको खुलासा गरेको हो। ताइवानी सैनिकलाई तालिम दिन कम्तिमा दुई दर्जन अमेरिकी अधिकृतहरु संलग्न रहेको पनि सो पत्रिकाले जनाएको छ। ताइवानी भूमिमै तालिम दिइएको र तालिम दिने अमेरिकी सैन्य अधिकृतहरु पालैपालो सहभागी हुने गरेको पनि रोयटर्स न्युज एजेञ्सीलाई उद्धृत गर्दै वालस्ट्रीट जर्नले उल्लेख गरेको छ।

प्रकाशित: Oct 08, 2021| 11:20 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।