काठमाडौं- समाजसेवी धर्मनाथ कोइराला र उनकी पत्नी इन्दिरा कोइरालाले नि:शुल्क दन्त उपचारका लागि १० लाखको अक्षय कोषसहित ३० लाखको सहयोग गरेका छन्। नेशनल डेन्टल अस्पताल र पुन्यार्जन फाउन्डेशनले नि:शुल्क दन्त उपचारका लागि सामाजिक सेवा इकाईका रूपमा सुरु गरेको ‘हेल्प टु स्माइल क्लिनिक’ सञ्चालनका लागि उनीहरूले उक्त रकम सहयोग गरेका हुन्।
असहाय बालबालिका तथा जेष्ठ नागरिकको नि:शुल्क दन्त उपचारका लागि कोइराला दम्पतिले अस्पतालमा आयोजित एक कार्यक्रमबीच उक्त रकम अस्पतालकी सञ्चालक सदस्य तथा पूर्व एक्जुकेटिभ डाइरेक्टर डा. सपना पियालाई हस्तान्तरण गरेका हुन्।
आफूहरूले सहयोग गरेको रकमले लक्षित वर्गको उपचारमा सहयोग पुगोस भन्ने उदेश्य रहेको कोइरालाले बताएका छन्।
पुन्यार्जन फाउण्डेसन तथा अस्पतालका अध्यक्षसमेत रहेका डाक्टर शुसिल कोइरालाका माता-पिताबाट उक्त सहयोग पाएसँगै ‘हेल्प टु स्माइल क्लिनिक’ घटस्थापनाको दिन सुरु गरिएको छ।
पैसा नभएर बिरामीको उपचार नरोकिओस र आम्दानी नहुने बच्चा तथा जेष्ठ नागरिकले उपचारबाट बन्चित हुनु नपरोस् भन्ने क्लिनिकको उदेश्य रहेको पुन्यार्जन फाउण्डेसनका अध्यक्ष डा. कोइरालाले बताए। उनले यो पैसा दिन नसक्नेका लागि नि:शुल्क क्लिनिक भएको बताएका छन्।
'जेष्ठ नागरिकहरु जसको तलमाथि नै दाँत छैनन् र चबाएर खान समस्या छ उनीहरु हाम्रा लक्षित वर्ग हुन्', उनले भने। नि:शुल्क दन्त उपचार सेवाका लागि अस्पतालको भुइतलाको कोठा र आवश्यक कर्मचारी अस्पतालले उपलब्ध गराउने छ। उपचारमा आवश्यक सामग्री फाउन्डेसनले सहयोग गर्ने कोइरालाले बताए। उनका अनुसार डाक्टरहरूले नि:शुल्क सेवा प्रदान गर्नेछन्।