काठमाडौं- सन् २०२१ को नोबेल साहित्य पुरस्कार उपन्यासकार अब्दुलरजाक गुर्नहलाई प्रदान गरिएको छ। स्टकहोममा बिहीबार आयोजित पुरस्कार घोषणा कार्यक्रममा स्विडिस एकेडमीले सन् २०२१ नोबेल साहित्य पुरस्कार गुर्नहलाई दिइने घोषणा गरेको हो।
तान्जानियाको जन्जिबारमा जन्मिएका गुर्नहले बेलायतमा बसेर अंग्रेजीमा लेख्दै आएका छन्।
‘उपनिवेशवादको प्रभाव तथा संस्कृति र महादेशीय खाडलका बीच शरणार्थीको भाग्यका बारेमा’ निरन्तरको लेखनलाई आधार बनाएर उनलाई साहित्यतर्फको नोबेल पुरस्कार दिइएको एकेडेमीले जनाएको छ।
गत वर्ष उनको 'आफ्टरलाइभ्स उपन्यास प्रकाशित भएको थियो। २०औं शताब्दीको सुरुवातमा जर्मन शासनका क्रममा पश्चिमी अफ्रिकाको जीवन र भोगाइलाई उनले उपन्यासमा प्रस्तुत गरेका छन्। त्यस्तै उनका 'ग्राभेल हार्ट', 'द लास्ट गिफ्ट', 'बाई द सी', 'मेमोरी अफ डिपार्चर', 'पिलग्रिम्स वे' लगायतका उपन्यास प्रकाशित छन्। त्यस्तै सन् २००७ मा प्रकाशित उनको उपन्यास 'प्याराडाइज' बुकर पुरस्कारको 'सर्टलिस्ट'मा परेको थियो।
सन् २०२० मा साहित्यतर्फको नोबेल पुरस्तकार अमेरिकाका लुइस ग्लक र सन् २०१९ को अस्ट्रियाका पिटर ह्यान्डकेलाई प्रदान गरिएको थियो।