न्युयोर्क- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाले संयुक्त राष्ट्रसंघका कर्मचारीलाई देश निकाला गर्न पाउने अधिकार नरहेको बताएका छन्। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकमा बुधबार उनले सो कुरा बताएका हुन्।
उनले भने, इथियोपियालाई त्यस्तो अधिकार छैन, उसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेर संयुक्त राष्ट्रसंघका कर्मचारीलाइ देश निकाला गरेको छ। इथियोपियाले हालैमात्र एक सूचना जारी गरेर आफ्नो देशबाट संयुक्त राष्ट्रसंघका कर्मचारीले देश छोड्नुपर्ने बताएको थियो।
इथियोपियाले ७२ घन्टाको समय दिएर देश छोड्न जारी गरेको सूचना कानुन विपरीत रहेको भनी संयुक्त राष्ट्रसंघ र अन्य देशले त्यसको विरोध गरेका थिए।
इथियोपियाले गत साता मुलुकको आन्तरिक कुराहरुमा प्रभाव पार्न खोजेको भन्दै देश छोड्न निर्देशन दिएको थियो। - रोयटर्स