बुटवल- कोभिड महामारीका कारण गत वर्षसम्म रोकिएको दसैं सस्तो बजार यो वर्ष सुरु भएको छ। दसैंलाई लक्षित गरी उपभोक्तालाई सस्तोमा सामान उपलब्ध गराउने गरी प्रत्येक वर्ष बुटवल उद्योग वाणिज्य संघको आयोजनामा सस्तो बजार सुरु हुँदै आएको छ। तर, कोभिड महामारीका कारण गत वर्ष रोकिएको थियो।
बुटवल बालमन्दिर प्राङगणमा सुरु भएको सस्तो बजार असोजको २५ गतेसम्म सञ्चालन हुनेछ। दसैं सस्तो बजारको लुम्बिनी प्रदेश सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले उद्घाटन गरेका हुन्। मन्त्री शाहीले उपभोक्ताको हितमा यस्ता सस्तो बजार प्रभावकारी हुने बताए।
दसैं सस्तो बजारमा दैनिक उपभोग्य वस्तु तथा नया नोट सटहीको समेत गरी ३० स्टल राखिएको छ। दसैं सस्तो बजारमा नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको नयाँ नोट सटहीको लागि ग्लोबल आईएमई बैंकले व्यवस्थापन गरेको छ।
त्यस्तै नेपाल दुग्ध विकास संस्थानको दुग्धजन्य उत्पादन, साल्ट ट्रेडिङ्ग नुन लगायतका दैनिक उपभोग्य सामाग्रि सहित मासु तथा अण्डासमेत सस्तो बजारमा राखिएको अध्यक्ष उज्जवल कसजुले जानकारी दिए।