काठमाडौं– सन् २०२१ साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजक गुरनाहलाई दिइने घोषणा गरिएको छ। नोबेल पुरस्कार कमिटीले उनलाई पुरस्कार दिने घोषणा बिहीबार गरेको हो। अब्दुलरजकले उपन्यासमार्फत उपनिवेशवाद र संस्कृतिका कारण शरणार्थीमा परेको प्रभावलाई मार्मिक रुपमा प्रस्तुत गरेका छन्।
सन् १९४८ मा तान्जानियाको जन्जिवारमा जन्मिएका अब्दुलरजक सन् १९६० को दशकको अन्त्यमा शरणार्थीका रूपमा बेलायत प्रवेश गरेका थिए। उनी केन्टरबरीस्थित केन्ट विश्वविद्यालयका अंग्रेजी र औपनिवेशिक साहित्यका अवकाश प्राप्त प्राध्यापक हुन्।
उनको सन् १९९४ मा प्रकाशित प्याराडाइज नामक उपन्यासले उनलाई लेखकका रूपमा पहिचान दिलाएको थियो। उनले यो उपन्यास सन् १९९० आसपासमा पूर्वी अफ्रिकाको यात्राका क्रममा लेखेका थिए। दुःखद प्रेमकथामा आधारित यो उपन्यासले केही परम्परागत मान्यतालाई भत्काएको छ।
उनका १० वटा उपन्यास र प्रशस्त लघुकथा प्रकाशित छन्। उनका अधिकांश आख्यानमा शरणार्थीको समस्यालाई उजागर गरिएको छ। २१ वर्षको उमेरमा स्वाहिली भाषामा लेख्न थालेका उनले साहित्य लेखनको माध्यम भने अंग्रेजी भाषालाई बनाएका हुन्।
पछिल्ला १५ वर्षका नोबेल पुरस्कार विजेता साहित्यकार
२०२० - लुइस ग्लक (अमेरिका)
२०१९ - पिटर ह्यान्डके (अस्ट्रिया)
२०१८ - ओल्गा टोकारक्जुक (पोल्याण्ड)
२०१७ - काजुओ इशिगुरो (बेलायत)
२०१६ - बब डिलन (अमेरिका)
२०१५- स्वेतलाना अलेक्विच (बेलारूस)
२०१४ - प्याट्रिक मोडियानो (फ्रान्स)
२०१३ - एलिस मुनरो (क्यानाडा)
२०१२ - मो यान (चीन)
२०११ - टोमस ट्रान्सट्रोमर (स्वीडेन)
२०१० - मारियो वर्गास ल्वसा (पेरू)
२००९ - हर्टा मुइलेर (जर्मनी)
२००८ - जीन मेरी गुस्तावे ले क्लीजियो (फ्रान्स)
२००७ - डोरिस लेसिंग (बेलायत)
२००६ - ओरहान पामुक (टर्की)
प्रकाशित: Oct 07, 2021| 17:47 बिहीबार, असोज २१, २०७८