काठमाडौं- मधेस मुद्दामा केन्द्रित चलचित्र ‘एक’ रिलिज भएको छ। घटस्थापनाका दिनदेखि डिजिटल प्लेटफर्मबाट रिलिज गरिएको निर्माण पक्षले जानकारी दिएको हो।
कोरोना महामारीका कारण लामो समयदेखि चलचित्र हलहरू बन्द भएका बखत चलचित्र ‘एक’ले डिजिटल प्लेटफर्म चलचित्र रिलिज गरेको हो। यद्यपि आजैदेखि सिनेमा हल पनि खुलेका छन्।
चलचित्रका लेखक तथा निर्देशक मनोज पण्डितले नेपालको सुरक्षाका लागि ‘सेन्टर फर सेक्युरिटी इन्टिलिजेन्ट’(सीएआई)को परिकल्पना पनि यो फिल्ममा गरेको बताए।
फिल्ममा सीएआई एउटा गुप्तचर संस्थाका चिन्तालाई उनले ‘रिल’मा उतार्ने प्रयत्न गरेका छन्। ‘राष्ट्रका विरूद्ध हुने यस्ता वैदेशिक चलखेललाई असफल बनाउनका लागि 'फ्रन्टिएरको रुपमा काम गर्ने सिएसआईजस्ता संस्था नेपालमा आवश्यक भइसकेको छ' भन्ने सन्देश चलचित्रले दिन खोजेको उनको भनाइ छ।
खासगरी स्वतन्त्र मधेसको राजनीतिक एजेन्डा देशका लागि निकै षड्यन्त्रमूलक भएको चित्रण यो फिल्ममा गरिएको छ। कलाकार प्रमोद अग्रहरिलाई स्वतन्त्र मधेसको राजनैतिक एजेन्डा बोकेको पात्रका रुपमा प्रस्तुत गरेको चलचित्र ‘एक’मा विशाल पोखरेल नेपालको गुप्तचर निकाय सिएसआईको गुप्तचर एजेन्टका भूमिकामा देखिएका छन्।
यी दुई पात्रबीच मिसन केन्द्रित अन्तरसंघर्षको कथात्मक प्रस्तुती रहेको यो स्पाइ जनर एक्सन प्रधान फिल्ममा ज्योत्सना योगी महिला एजेन्टको भूमिकामा देखिएकी छन्।
प्रमोद खड्काको एक्सन कोरियोग्राफी रहेको चलचित्र दीपक बज्राचार्यले छायांकन गरेका हुन्। सिनेमाको सम्पादन भरत रेग्मीले गरेका छन्।
गोविन्द मधुर आचार्य, पुस्कर महतो र हरि लम्सालले चलचित्र ‘एक’मा संगीत भरेका छन्। सिनेमा फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता आत्मा गुरागाईं र सोफिया थापा हुन्। चलचित्र ‘एक’ सिनेमा घर एप, डिसहोमको च्यानल ५५५, नेट टिभी, म्याक्स टिभी, र भायोनेटमा प्रदर्शनमा आउने भएको छ।
चलचित्र ‘एक’मा प्रमोद खड्का, रामशरण पाठक, मदन ठाकुर, सुरेश शाह, सविर चुरौटे, हरून अली, रमेश महर्जन, रिसिका घिमिरे तथा बालकलाकार विश्वन्त पोखरेललगायतका कलाकारहरूले ‘स्पाइ ड्रामा’मा अभिनय गरेका छन्।