काठमाडौं– उपत्यकाबाहिर जाने यात्रुसँग तोकिए भन्दा बढी भाडा लिन खोज्ने ९ जना बिचौलियालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। ट्राफिक प्रहरीको सादा पोसाकमा खटिएको टोलीले उपत्यका बाहिरिने यात्रुहरुसँग बढी भाडा लिई टिकट काट्ने व्यक्तिलाई निग्रानी गर्ने, आफैं यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिने व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए।
पक्राउ पर्नेमा भरतपुर चितवनका समीर श्रेष्ठ, धनकुटाका किरण लिम्बु र सुनसरीका सविन राई छन्। यसैगरी काठमाडौंका राज ठकुरी, दाङ घोराहीका विशाल गुरुङ र कैलालीका २९ रमेश कठायत पक्राउ परेको प्रहरीले जनाएको छ।
काठमाडौं कलंकीबाट पक्राउ परेका नवीन केसी र बल्खुबाट पक्राउ परेका अरुण मगर र विनोद रानालाई समेत पक्राउ गरी कारबाहीको लागि प्रहरी बृत्त कालीमाटीमा बुझाइएको महाशाखाले जनाएको छ। ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।