लखनऊ- भारतको उत्तर प्रदेश राज्यको लखिमपुर खिरीमा भएको घटनाका दोषीलाई कारबाही गर्ने भारतीय जनता पार्टी (भाजपा)का नेतासमेत रहेका उत्तर प्रदेश सरकारका मन्त्रीले जनाएको छ।
उत्तर प्रदेश भाजपाका नेता योगी आदित्यनाथको मन्त्रिपरिषद्का सदस्य सिद्धार्थ सिंहले लखिमपुर मामिलामा दोषी ठहरिएकाहरु राजा अथवा रंक जो भए पनि कारबाही गर्ने बताएका हुन्।
लखिमपुरको खिरीमा आइतबार केन्द्रीय गृहराज्य मन्त्रीको एक कार्यक्रममा हिंसा भएपछि चार किसान र एक पत्रकारसहित आठ जनाको मृत्यु भएको थियो।
उत्तर प्रदेश सरकारको निर्णयबारे बोल्दै सिद्धार्थले भने, 'योगी सरकार वास्तविकता बाहिर ल्याउन प्रतिबद्धत छ। जो दोषी ठहरिन्छ, त्यो चाहे राजा अथवा रंक जो भए पनि कारबाही गरिन्छ।'
उनले विपक्षी दलहरुले यस संवेदनशील मामिलामा पनि राजनीति गर्न खोजेको आरोप लगाएका छन्। कांग्रेस नेता राहुल गान्धी पञ्जाब र छत्तिसगढका मुख्यमन्त्रीसहित लखिपुर आउने भएका छन्।
यसअघि प्रियंका गान्धीलाई भने लखिमपुर जानुअघि नै सितापुरमा रोकिएको थियो। यस विषयमा उत्तर प्रदेश सरकारले अनुसन्धानमा कुनै बाधा नहोस् भन्नका लागि उनलाई रोकिएको बताइएको छ।