काठमाडौं- ६६औं प्रहरी दिवस २०७८ का अवसरमा प्रहरीले विभिन्न व्यक्तिलाई पुरस्कृत गरेको छ। बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, पूर्वप्रहरी लगायतलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पुरस्कृत गरेका हुन्।
शान्ति सुरक्षा बहाल गरी कानून कार्यान्वयन गर्ने क्रममा जोखिमपूर्ण कार्य गरेबापत प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीलाई पूर्ण शान्ति पुरस्कार २०७८ र साहसिक तथा जोखिमपूर्ण कार्य गरे वापत प्रहरी नायव निरीक्षक सुमेश पाण्डे योगेन्द्र स्मृति साहसिक पुरस्कारबाट सम्मानित भए।
सर्वोत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ्ग, उत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी नायव उपरीक्षक फनिन्द्र प्रसाई, प्रहरी निरीक्षक मणिराम थापा, प्रहरी नायव निरीक्षकद्वय सन्तोष थापा मगर र कृष्ण राज सेढाई, उत्कृष्ट अनुसन्धानकर्ता सोकोतर्फ प्रहरी सहायक निरीक्षक मच्छेन्द्र नाथ, उत्कृष्ट व्यवस्थापकीय कार्य गर्ने प्रहरी नायव उपरीक्षक जनक बहादुर शाही, उत्कृष्ट ट्राफिक व्यवस्थापनतर्फ प्रहरी निरीक्षक सुनिल कार्की, उत्कृष्ट विपद् उद्दारक प्रहरी जवान संजिव कुमार साह, सपोर्ट समूह (प्राविधिक)तर्फ प्रहरी नायव उपरीक्षक उदयजङ्ग बहादुर राणा, प्रहरी निरीक्षक ई.चिरञ्जिवि प्रताप महतो, प्रहरी नायव निरीक्षकहरू शान्ति शाक्य, रमण बहादुर पल्ली मगर, सन्तोष लामा, प्रहरी हवल्दारहरू राजन भण्डारी, पूर्ण बहादुर खत्री र पुरुषोत्तम माझी पनि सम्मानित भएका छन्।
यस्तै जोखिमपूर्ण कार्य गर्ने प्रहरी नायव उपरीक्षक डा. जयन्ति ढुङ्गाना, प्राविधिक प्रहरी निरीक्षक निरुषा महर्जन, प्रहरी कार्यालय सहयोगीद्वय सर्मिला भुलेज र सुरज देउला, उत्कृष्ट खेलाडी तथा खेल प्रशिक्षकतर्फ प्रहरी नायव निरीक्षक केदार बहादुर सिङ्खडा, प्रहरी जवानहरू कुशल भुर्तेल, सुशिला थापा, रोशन कार्की र निरु थापा, उत्कृष्ट आन्तरिक तथा बाह्य प्रशिक्षकतर्फ प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेल, प्रहरी जवानद्वय सम्झना रायमाझी तथा बिमला चौधरी र पुरस्कार पाउने अन्य प्रहरी कर्मचारीतर्फ प्रहरी नायव निरीक्षक नविन कुमार गिरी तथा प्रहरी कार्यालय सहयोगी निराजन श्रेष्ठ पनि सम्मानित भएका छन्।
यसैगरी प्रहरी महानिरीक्षक थापा क्षेत्रीले समुदाय-प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउने स्थानीय तह अन्तर्गत काठमाडौं महानगरपालिका, संघ संस्थातर्फ नेपाल टेलिभिजन, सगरमाथा टेलिभिजन, एपी १ टेलिभिजन, टुडालदेवी जेष्ठ नागरिक समिति, भक्तपुर उद्योग वाणिज्य संघ, शैक्षिक संस्थातर्फ सारदा मावि भक्तपुर नगरपालिका-२, ईन्द्रेश्वरी मावि सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११, संस्थागततर्फ आसरा सुधार केन्द्र रानीबारी काठमाडौं, फ्रिडम किड व्याग सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-५ लाई कदरपत्र प्रदान गरेका थिए।
यसैगरी प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी द्वैमासिक पत्रिकामा २०७७ मा प्रकाशित लेख रचनामध्ये प्रहरीतर्फ प्रहरी निरीक्षक घन बहादुर थापा र सर्वसाधारणतर्फ काठमाडौं बबरमहलका गम्भीर बहादुर हाडालाई नगद पुरस्कार प्रदान गरेका थिए। कार्यक्रममा नेपाल प्रहरीका अवकाश प्राप्त जेष्ठ सदस्यसमेत सम्मानित भएका थिए।
यसैगरी जग्गादाताहरुमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ नारायणस्थानका दिर्ग कुमारी खतिवडा, नुवाकोट पञ्चकन्या गाउँपालिका, कारागार सुरक्षा गार्ड नुवाकोट, नुवाकोट किस्पाङ गाउँपालिका-५ का वीरेन्द्र बहादुर गुरुङ, बिष्णु घले, जितेन्द्र तामाङ मोक्तान, नुवाकोट साबिक दानसिङ गाविस-५ हाल तारकेश्वर गाउँपालिका-१ का मान बहादुर तामाङ, सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका, सिन्धुपाल्चोक जगल गाउँपालिका-५ का वीर बहादुर श्रेष्ठ, खड्क बहादुर श्रेष्ठ, मधुकर श्रेष्ठ, हस्त बहादुर श्रेष्ठ, काभ्रे मण्डनदेउपुर नगरपालिका, काभ्रे रोशी गाउँपालिका-७ का मान कुमारी गौतम र शिवनारायण श्रेष्ठ पनि सम्मानित भएका छन्।
उता नेपाल प्रहरी विद्यालय साँगा काभ्रेद्वारा आयोजित राष्ट्रव्यापी चित्रकला प्रतियोगितातर्फ प्रथम स्थान हासिल गर्ने रिपुमर्दनी सैनिक सेकेन्डरी स्कुल काठमाडौंकी ईन्दिरा थापा, द्वितिय स्थान हासिल गर्ने काठमाडौं युनिभर्सिटी हाईस्कुल काभ्रेका प्रशान्त मकाजु श्रेष्ठ र तृतीय स्थान हासिल गर्ने जेन्युन सेकेन्डरी स्कूल भक्तपुरका सुबिज्ञा प्रधानलाई पुरस्कार गरेका थिए।
त्यसैगरी समाजसेवी महालक्ष्मी नगरपालिका-५ टिकाथलीका पूर्व प्रहरी नायव महानिरीक्षक गणेश केसी, काठमाडौं महानगरपालिका-१० दयावती रावल तथा प्रहरी कार्य तथा अनुसन्धान कार्यमा सहयोग गर्ने १२ जनालाई कदरपत्र प्रदान गरिएको थियो।