काठमाडौं– बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान अहिले नार्कोटिक्स कन्ट्रोल व्युरो (एनसीबी)को हिरासतमा छन्। २३ वर्षीय आर्यन प्रायः पर्दा पछाडि उभिन रुचाउँथे। निजी जीवन बाँच्नेमा कुरामा विश्वास गर्थे उनी। कलाकार बन्ने भन्दा पनि निर्देशनमा रुची थियो।
‘कभी खुशी गभी गम’, ‘कभी अलविदा ना कहेना’ जस्ता चलचित्रमा बाल कलाकारको भूमिका गरेका आर्यनले ‘द जंगल बुक’को सिरिज हिन्दी भर्सन ‘सिम्भा’मा सिम्भा पात्रका लागि आवाज डबिङ गरेका छन्।
बलिउडमा खासै पहिचान बनाउन नसके पनि आर्यन विवादमा भने आइरहन्छन्। यसअघि फेक एमएमएसका कारण विवादमा परेका आर्यन अहिले ड्रग्सका कारण विवादित छन्।
हिरासतमा रहेका आर्यनको दैनिकी अहिले एकान्तमय भएको छ। उनले कसैसँग कुरा गर्न पाएका छैनन्। मन परेको खान पाएका छैनन्। एनसीबीले उनलाई नजिकै रहेको राष्ट्रिय हिन्दू रेस्टुरेन्टबाट खाना ल्याएर दिने गरेको छ। कुनै पनि अभियुक्तलाई एनसीबी कार्यालयमा घरबाट मन परेको खाना ल्याउन अनुमति छैन। एनसीबीले हिरासतमा रहेका अभियुक्तलाई दिनमा दुईपटक खाना उपलब्ध गराउँदै आएको छ। आर्यनले त्यही खानामा चित्त बुझाएका छन्।
एनसीबीको सोधपुछका क्रममा आर्यनले बुबा शाहरुख फिल्म ‘पठान’को लोकेसनमा व्यस्त रहेको बताएका छन्। उनका अनुसार शाहरुखलाई भेट्न उनकी म्यानेजर पूजासँग ‘अपोइन्टमेन्ट’ लिनुपर्छ।
आर्यनले एनसीबीका अधिकारीहरुसँग पढ्नका लागि विज्ञानका किताब मागेको बताइएको छ। मागेका पुस्तक उनले पाएका छन्।
यता, शाहरुख खानका प्रशंसकहरुले आर्यनको समर्थनमा नाराबाजी गरेका छन्। आर्यनको रिहाइका लागि सोसल मिडियादेखि मन्नत (शाहरुख खान निवास) सम्म समर्थकहरुले पहल गरिरहेका छन्। कतिपय समर्थक मन्नत बाहिर जाग्राम नै बसेको बताइएको छ।
शाहरुख खानले आर्यनको पक्षमा वकालतका लागि सतीश मानशिन्देलाई वकिल राखेका छन्। आर्यन खानलाई क्रुजको कार्यक्रममा पाहुनाका लागि आमन्त्रित गरिएको थियो र उनको साथमा प्रतिबन्धित लागु औषध पनि फेला नपरेको वकिलले जिकिर गरेका छन्। अरुबाट पाएको ड्रग्सलाई आर्यन खानबाट पाएको भन्न नमिल्ने उनको तर्क छ। उनले भने, ‘आर्यन खानलाई जहाजमा ड्रग्स बेच्न जरुरी छैन। आर्यनले चाहेको खण्डमा पूरा जहाज किन्न सक्छन्।’
आर्यनले अदालतमा भनेका छन्, ‘म पक्राउ परेपछि अधिकारीहरुलाई अनुसन्धान गर्न दिएको थिएँ। मैले कसैलाई देखेर भाग्ने कोसिस गरिनँ र कसैलाई दुर्व्यवहार पनि गरिनँ। मलाई हिरासतमा लिइनु हुँदैन।’ सोधपुछका क्रममा आर्यनले विगत ४ वर्षदेखि आफूले ड्रग्स सेवन गर्दै आएको भने स्वीकारेका छन्।
मुम्बईबाट गोवा जाँदै गरेको पानीजहाजमा भएको ड्रग्स पार्टीमा छापा मार्दा एनसीबीले आर्यनलाई पक्राउ गरेको थियो। एनसीबीले आर्यनको फोन ‘क्लोन’ गरी ‘फरेन्सिक’ जाँचको लागि पठाएको छ। साथै ‘ह्वाट्सएप च्याट’को माध्यमबाट औषधीको बारेमा धेरै महत्वपूर्ण जानकारी पनि प्राप्त गरेको छ। मोबाइलबाट धेरै रहस्यहरु बाहिर आउन सक्ने अपेक्षा एनसीबीका अधिकारीले गरेका छन्। आर्यन ७ अक्टोबरसम्म एनसीबीकै हिरासतमा हुनेछन्।
–भारतीय सञ्चारमाध्यममा प्रकाशित रिपोर्टहरुमा आधारित