भक्तपुर- बडादसैंका अवसरमा भक्तपुर दरबार स्क्वायरस्थित तलेजु मन्दिरभित्र बलि पूजा नहुने भएको छ।
नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा मङ्गलबार बसेको सरोकारवालाको बैठकले कोरोनाको सङ्क्रमण घट्दै गए पनि जोखिम पूर्णरूपमा नहटेको निष्कर्ष निकाल्दै तलेजुमा बलि पूजा नगर्ने निर्णय गरेको हो।
'दसैंमा तलेजुमा पुजारीबाट आवश्यक पूजा मात्र गर्न दिने निर्णय गरेका छौँ', बैठकपछि नगरप्रमुख प्रजापतिले भने। दसैंलाई सुरक्षितरूपमा मनाउन शान्ति सुरक्षाको व्यवस्थापन चुनौतीपूर्ण हुने बताउँदै नगरप्रमुख प्रजापतिले पूजाआजा नरोक्ने, भीडभाड हुन नदिने, सामाजिक दूरी कायम गर्ने र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने गरी मनाउन जनतालाई अह्वान गर्ने जानकारी दिए।
बैठकले नगरका विभिन्न शक्तिपीठलगायत धार्मिकस्थलमा हुने मेला, पूजा र नवरात्रमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भीडभाड नगर्न र सामाजिक दूरी कायम गर्ननगरवासीलाई आह्वान गर्ने निर्णय गरेको छ।
बैठकमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले चाडपर्वमा कोभिड फैलने जोखिम बढी भएको बताउँदै संयुक्त प्रयासबाट दसैं शान्तिपूर्ण र सुरक्षित बनाउनुपर्नेमा जोड दिइन्।
बैठकमा महानगरीय प्रहरी परिसर, नेपाली सेना, सशस्त्र प्रहरी, गुठी संस्थान भक्तपुरका प्रमुख र तलेजुका पुजारीहरूको सहभागिता थियो। - रासस