काठमाडौं- श्रीमतीलाई भारतमा लागि बेचबिखन गरेको अभियोगमा उनकै श्रीमान पक्राउ परेका छन्। महिलालाई बेचबिखन गरेको आरोपमा पीडित महिलाकै श्रीमान् र नुवाकोट दुप्चेश्वर गाउँपालिका-१ का पासाङ तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
पीडित महिलालाई उनकै श्रीमानले २०७१ सालमा १ लाख ६० हजार रुपैयाँ लिई पासाङको जिम्मा लगाएका थिए। पासाङले ती महिलालाई बालाजुको होटलमा जिम्मा लगाएका थिए।
उक्त होटलकै सञ्चालकका भिनाजु पर्ने व्यक्तिले ती महिलालाई सुनौली हुँदै भारतको नयाँदिल्लीस्थित म्हेन्डो तामाङको घरमा पुर्याएका थिए। म्हेन्डोले अर्कै मान्छेको जिम्मा लगाई ती महिलालाई भारत आग्राको वेश्यालय पुर्याइएको थियो। यसपछि उनलाई ८ महिनासम्म जबर्जस्ती वेश्यावृत्तिमा काम गर्न बाध्य बनाइएको थियो।
८ महिनापछि पुन: म्हेन्दोकै घरमा ल्याई उनलाई ६४ नम्बरको गल्लीको कोठीमा राखी वेश्यावृत्तिमा लगाइएको पाइएको प्रहरीले जानकारी दिएको छ। यसपछि भने नेपाली राजदूतावास र शक्ति समूहको सहयोगमा गत जेठ ३१ गते पीडितलाई नेपाल फर्काइएको थियो।
पीडितले भदौ १ गते प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिएकी थिइन्। हालसम्म फरार रहेका उनीहरूलाई पक्राउ परेका हुन्। उनीहरूमाथि अनुसन्धान भइरहेको र अन्य फरारको खोजी भइरहेको उक्त ब्युरोले जनाएको छ।